लगानी विस्तारमा आक्रामक बन्दै भाटभटेनी, रोडशोको सहकार्यमा ‘अपार्टमेन्ट’ निर्माण गर्दै

काठमाडौं । आर्थिक मन्दीका कारण चल्तीकै सपिङ सेन्टरहरू सुनसान भइरहेका बेलामा भाटभटेनी समूह भने देशैभर सञ्जाल विस्तारमा सक्रिय बनेको छ । 

पछिल्लो समय देशकै सबैभन्दा ठूलो सुपरमार्केट स्टोर भाटभटेनीले होटल, हस्पिटल तथा कोल्डस्टोर लगायतमा धमाधम लगानी गरिरहेको छ । यहीं दौरानमा भाटभटेनी समूह र रोडशो रियल स्टेटले काठमाडौंको चुच्चेपाटीमा 'बौद्ध लक्जरी अपार्टमेन्ट' बनाउने भएका छन् । 

दुवै समूहको संयुक्त लगानीमा बन्ने उक्त लक्जरी अपार्टमेन्टको निर्माणको कार्य यही जेठ महिनादेखि सुरु गरिने रोडशो रियल स्टेटका सञ्चालक सागर गुरुङले विकासन्युजलाई जानकारी दिए । 

सञ्चालक गुरुङले भने, 'हाल पौने ४ रोपनी जग्गाको नक्सा पासको काम अन्तिम चरणमा पुगेको छ । नक्सा पासको काम सकिएपछि यही जेठ महिनादेखि निर्माण कार्य थालिने छ । अपार्टमेन्ट एक-डेढ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएका छौं ।'

अपार्टमेन्टमा रोडशो र भाटभटेनीको ५०/५० प्रतिशत लगानी रहेको उनले जानकारी दिए ।

उनका अनुसार तारागाउँमा बन्ने उक्त अपार्टमेन्ट पौने ४ रोपनी जग्गामा फैलिनेछ । अपार्टमेन्टमा सिंगल बेसमेन्ट हुनेछ भने ९ तला रहनेछन् । प्रत्येक तलाको साइज एक हजार स्क्वार फिट हुनेछ । एक, दुई र तीन बेडरुमका युनिट हुने सञ्चालक गुरुङले जानकारी दिए । प्रत्येक तलामा ९ वटा युनिट बन्नेछन् । अपार्टमेन्टमा ६४ युनिट रहनेछन् । अपार्टमेन्टको बेसमेन्ट पार्किङको सुविधा हुनेछ । 

अपार्टमेन्टमा विभिन्न सुविधासहित सरकारले तोकेको मापदण्डमा बन्ने रोडशोले जनाएको छ ।

भाटभटेनी र रोडशोले बनाउन लागेको यो अपार्टमेन्टलाई प्रिमियम परियोजनाका रूपमा हेरिएको छ भने वान बीएचके अपार्टमेन्ट १ करोड ९५ लाखमा किन्न सकिनेछ। 

रोडशोले विशेष गरी उपत्यका र पोखरामा अपार्टमेन्ट, हाउजिङ तथा ल्याण्ड पुलिङ बनाउँदै आइरहेको छ । हाल पोखरामा दुई अपार्टमेन्ट ४० युनिटको अन्नपूर्ण अपार्टमेन्ट मासबार तथा ६० युनिटको अन्नपूर्ण लेकसाइड परियोजना निर्माण गरिरहेको छ । जसमा १ अर्ब ५० करोडको लगानी छ भने करिब २ अर्ब लगानीमा काठमाडौंको बूढानीलकण्ठमा पनि आवासीय अपार्टमेन्ट निर्माण गरिरहेको छ ।   

यसैगरी, हाल कास्कीमा रुचि ल्याण्ड प्लटिङ,  पुल्चोकमा हाइट अपार्टमेन्ट, दुवाकोट ल्याण्ड पुलिङ, ६ वटा आरएसएच हाउजिङ समेत निर्माण गरिरहेको छ । रोडसोले पोखरामा अन्नपूर्ण केबलकार सञ्चालन गरिरहेको छ। 

यस्तै, उपत्यकाको बूढानीलकण्ठ, भाटभटेनी, मीनभवन, धुम्बाराही, चण्डोल, पुलचोकमा हाउजिङ बनाइसकेको छ भने कालिमाटी ट्रेड सेन्टर, रञ्जना ट्रेड सेन्टरलगायत व्यापारिक कम्पलेक्स समेत रोडसोले बनाइसकेको छ । 

यता भाटभटेनीले पनि पछिल्लो समय होटल, कोल्डस्टोर, हस्पिटलहरूमा लगानी गरिरहेको छ । जसमा चितवनको टाँडीमा ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा कोल्डस्टोरको निर्माण भइरहेको छ ।  कोल्डस्टोर १० हजार म्याट्रिक टन क्षमताको हुने जनाइएको छ भने कोल्डस्टोर निर्माण गर्न अनुमानित २ अर्ब रुपैयाँ लगानी लाग्ने भाटभटेनीले जनाएको छ ।

यसैगरी, ४ वर्षदेखि तीनकुनेमा निर्माणाधीन रहेको काठमाडौं इन्टरनेशनल अस्पतालका संस्थापकले निर्माण गर्न नसकेपछि भाटभटेनीले करिब ४६ प्रतिशत सेयर किनेको छ । 

चितवन मेडिकल कलेजका संस्थापक तथा सञ्चालक प्राडा हरिचन्द्र न्यौपाने र उनको परिवारको नाममा बहुमत सेयर रहेको अस्पताल २०२४ भित्र निर्माण सकेर सञ्चालनमा ल्याउने लक्ष्य थियो । 

हेलिप्याडसहित सुपर स्पेसियालिटी बनाउने उद्धेश्यले २०७८ असारमा निर्माण सुरु गरेको थियो । तर हालसम्म निर्माण कार्य सम्पन्न नहुँदा भाटभटेनीले उक्त अस्पतालमा लगानी गरेको हो । अस्पतालाई अबको एक वर्षभित्र सञ्चालनमा ल्याइने भाटभटेनीले जनाएको छ ।

यसैगरी, ललितपुरको पुलचोक निदान अस्पतालमा पनि लगानी गरेको छ भने दरबारमार्गमा ४२ रोपनी क्षेत्रफलमा अन्नपूर्ण स्क्वायर होटेल बनाइरहेको छ । जसमा भाटभटेनीले २ अर्ब ७० करोडको लगानी गरेको छ ।

यस्तै, पूर्वराज्यमन्त्री मोतीलाल दुगडले १० वर्षदेखि बनाइरहेको विराटनगरको होटेल सेन्चुरी भाटभाटेनीले १५५ करोडमा किनेको छ भने यसलाई २ वर्षभित्र सञ्चालनमा ल्याएर पाँचतारे होटेलको सेवासुविधा दिने योजनाका साथ काम गरिरहेको छ । 

बर्दघाटमा रहेको भाटभटेनीको काठमाडौं स्टील नामको उद्योगमा १५० करोड लगानी गरेर असोजसम्ममा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।  

देशभर हाल भाटभटेनीका दुईदर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् भने तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् ।

Share News