गभर्नर पौडेल : विदेशमा पढाइ, अब्बल अर्थशास्त्री

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । 

गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका  पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । 

उनी नेपाली काँग्रेसको सहयोगले गभर्नरमा नियुक्त हुन सफल भएका हुन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । 

ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल युलेन्स स्कूल सञ्चालनमा छ । आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । 
डा. पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले चीनको शाङ्हाइबाट पनि इन्जिनियरिङमा स्नातक तह अध्ययन गरेका छन् । 

लामो समय विदेशमा गरेको अध्ययनले उनलाई एक अर्थशास्त्री बनाउन भूमिका खेल्यो । उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको सञ्चालक बनेको अनुभव पनि छ । 

उनले विश्व बैंकको परामर्शदार्ता, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा काम गरिसकेका छन् । 

यस्तै, उनले काठमाण्डू विश्वविद्यालयको भिजिटिङ प्रोफेसर, युलेन्स स्कूलको बोर्ड अफ ट्रस्टी, सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक भएर पनि काम गरिसकेका छन् । 

चितवन घर भएका उनी २०७९ को संघीय संसदका लागि चुनावमा होमिएका थिए । तर, उनी पराजित भए । 

डा. पौडेल विभिन्न समयमा अर्थतन्त्रका विविध विषयमा लेख रचना लेख्दै आएका छन् भने भने उनीसँग आर्थिक इतिहासमा गहिरो अध्ययन भएका एक काबिल अर्थशास्त्रीको रुपमा उनी परिचित छन् ।

अमेरिका र चीनमा गरेको अध्ययन, योजना आयोगको नेतृत्व गरेको अनुभव र अध्ययनशील मानिने पौडेलले राष्ट्र बैंकको गभर्नरका रुपमा प्रभावकारी काम गर्न सक्ने अनुमान धेरैले गरेका छन् ।
 

Share News