बिर्तामोडमा एक अर्ब बढीको लागतमा १४ किलोमिटर सडक कालोपत्र

बिर्तामोड । संघ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।

सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताए । यो सडक आरपी समता जेभीले ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।

बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।

वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताए । रासस

Share News