काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले वैदेशिक मुद्राको सञ्चिति बढ्दा खुसी हुनु पर्ने अवस्था नरहेको बताएका छन् । गभर्नर पौडेलले पदभार ग्रहणपछि कर्मचारीहरूले राखेको स्वागत कार्यक्रममा बोल्दै उनले पछिल्लो समय राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चितिको तथ्यांक देखेर खुसी भएको विषय उल्लेख गर्दै त्यसमा मक्ख परेर बस्न अवस्था नरहेको सुनाए ।
‘वैदेशिक सञ्चिति बढ्यो भनेर खुसी हुनुपर्ने अवस्था छैन, यसको प्रयोगमा जोड दिनुपर्छ, अब बैंक तथा वित्तीय संस्थामा कडा नियमनभन्दा पनि सुपरभिजनमा जोड दिनुपर्छ,’ उनले कर्मचारीहरूसँग भने ।
यस्तै, उनले ग्रे लिष्टबाट देशलाई बाहिर ल्याउनका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा उनको थियो । उनले कर्मचारीहरुसँग नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गर्नुपर्ने र त्यसमा कर्मचारीको साथ आवश्यक हुने धारणा राखे ।
उनले राष्ट्र बैंकको निर्णयमा सरोकारवालाले अनुमान लगाउन खालको हुनुपर्ने बताए । ‘हामीले नीति निर्माणमा पनि पारदर्शी बन्नुपर्छ, आकस्मिक कुनै निर्णय गर्नु हुँदैन, सबैको उद्देश्य आर्थिक चलायमान नै हुनुपर्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २१ खर्ब ३६ अर्ब रुपैयाँ विदेशी मुद्राको सञ्चिति छ । बैंक तथा वित्तीय संस्थामा मात्रै २ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ ।