काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहत रहेका विभाग तथा संस्थानहरूलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्रालयले आयोजना गरेको ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेका सम्झौताबमोजिम काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले प्रधानमन्त्रीसँग आफूले र आफूसँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेका सम्झौताको सतप्रतिशत नतिजा दिनुपर्नुपर्ने आवश्यकता औँल्याए।
कतिपय निकायले नीतिगत समस्या वा अन्य बहाना देखाउँदै काममा ढिलासुस्ती गर्ने गरेकाले अब ती बहाना स्वीकार्य नहुने उनको भनाइ छ।
मन्त्री भण्डारीले भने, ‘हामीले आर्थिक वर्षको सुरुआतमा जे छलफल गर्यौं, त्यसको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौं । तीमध्ये कतिपय कामहरू सम्पन्न पनि भएका छन् तर सम्झौताअनुरुप सन्तोषजनक उपलब्धि हासिल भएका छैनन् । कतिपय काम अधुरा छन्, ती समयमा सम्पन्न पूरा गरेर देखाउनु छ, त्यसमा असफल हुने छुट कसैलाई छैन ।’
उनले मन्त्रालय मातहत रहेका सबै निकायलाई आजका मितिदेखि कामको गति बढाउन निर्देशन समेत दिए ।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद् विषय भएको उल्लेख गरे ।
उनले भने, ‘कर्मचारीहरूलाई आवश्यक पर्ने सबै सुविधा हामीसँग हुँदाहुँदै पनि कहिलेकाहीँ जोखिम लिन नसक्ने, समन्वय गर्न नसक्नेलगायत कारणले कामले गति लिन सक्दैन । समस्याहरू केही भए केके छन्, यसै अन्तरक्रियामा खुलेर राखौं र समाधानसहित परिणाममुखी काममा लागौं ।’
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पूरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुख, मातहत संस्थानका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थितिमा चालु आवको सुरुवातमा लिइएका लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको थियो ।