काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
शनिबार भर्चुअल माध्यमबाट बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सघाउनुपर्ने माग गरेको हो । कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वमा स्वयं सांसद लेखकले 'प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघिनुपर्छ' भन्ने धारणा व्यक्त गरेका स्मरण गराउँदै अहिले आफूले त्यही नै अभ्यास गर्नुपर्ने पार्टीको धारणा छ ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'गृहमन्त्री र उहाँको सचिवालय नै भिजिट भिसा मार्फत् मानव तस्करीमा संलग्न भएको कुरा सार्वजनिक भइसकेको अवस्थामा राजीनामा दिएर निष्पक्ष छानबिनमा सघिनु जरुरी छ ।'
यता, गृह मन्त्रालयले शनिबार नै विज्ञप्ति जारी गर्दै गृहमन्त्री लेखकको कुनै संलग्नता नरहेको दाबी गरेको छ । साथै अख्तियारबाट हुने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ ।