इन्डो-नेपाल सिएसआर समिट : ४०० उद्यमीलाई वित्तीय साक्षरताको घोषणा

काठमाडौं । नेपाल-भारतको सहकार्यमा आयोजित इन्डो–नेपाल सिएसआर समिट आइतबार काठमाडौंमा सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वको प्रभावकारिता बढाउने र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित समिट बिफक्याप नेपाल को आयोजना र जी फाउन्डेसनको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले नेपालमा सिएसआर खर्च प्रभावकारी नदेखिएको बताउँदै कर्पोरेट क्षेत्र अझ गम्भीर बन्नुपर्नेमा जोड दिइन् । 'सिएसआर भनेको पैसा मात्रै होइन, यो व्यवसायको कर्तव्य र समाजप्रतिको उत्तरदायित्व पनि हो,' उनले भनिन् ।

कार्यक्रमका विशिष्ट वक्ता नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री का उपाध्यक्ष तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायभरमले सिएसआर क्षेत्रको सम्भावना अत्यन्तै ठूलो रहेको र दिगो विकासमा यसको सकारात्मक भूमिका देखिएको बताए ।

बिफक्याप नेपालका सीईओ मनोज रेग्मीले समिटबाट प्राप्त स्रोत साधन प्रयोग गरेर भोजपुर, सोलुखुम्बु र खोटाङ जिल्लाका ४०० उद्यमीलाई वित्तीय साक्षरता दिने योजना सार्वजनिक गरे । साथै उनले आगामी वर्ष एशिया स्तरको सिएसआर समिट आयोजना गर्ने लक्ष्य रहेको पनि बताए ।

कार्यक्रमका सत्रहरूमा सहभागी भारतीय प्रतिनिधिहरुले सिएसआर कार्यक्रमलाई परिणाममुखी बनाउन नीति, मोडालिटी र निगरानी प्रणाली स्पष्ट हुनुपर्नेमा जोड दिए ।

समिटमा नेपालका सांसदहरू, मन्त्रालयका वरिष्ठ पदाधिकारी, भारत तथा नेपालका सिएसआर विशेषज्ञहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बिफक्याप नेपाल विगत केही वर्षदेखि उद्यमशीलता, सीपमूलक तालिम, वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो । यो संस्था नेपालमै पहिलोपटक सांसदहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने संस्थाको रूपमा पनि परिचित छ ।

Share News