काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनको अवधिका लागि यो रकम संकलन गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातदेखि नै तरलता प्रशोचनका लागि निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ । यसैक्रममा आइतबारपनि बैंकले उक्त उपकरणमार्फत ३० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
यस योजनाअन्तर्गत न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको माग गर्न सकिनेछ । निष्कासनको रकम बाँडफाँट गर्दा उच्च बोलकबोलकर्तालाई प्राथमिकता दिइनेछ । यस निक्षेपको साँवा तथा ब्याज फिर्ता असार १ गते हुने बैंकले जनाएको छ ।