ग्वार्को फ्लाइओरभरको निर्माण कार्य चाँडै सकिँदै, शनिबारदेखि कालोपत्रे थालियो

काठमाडौं । राजधानीको रिङरोडमै निर्माणाधीन रहेको ग्वार्कोमा फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको छ । 

सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको र शनिबारदेखि कालोपत्रेको काम भइरहेको छ । फ्लाईओभरमा अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । 

प्रमुख बराहीले भने, ‘फ्लाईओभरमा कालोपत्रेको काम शनिबारदेखि सुरु गरेका छौं । हाल कोटेश्वरतर्फ कालोपत्रे भइरहेको छ । यही जेठ मसान्तसम्मा काम सकिनेछ । कालोपत्रेदेखि फ्लाईओभरमा ट्राफिक लाईट जडान, पेन्टिङ, रङरोगनलगायतको काम जारी छ । यो काम सकिएलगत्तै गाडी गुड्छ ।’

मौसमले साथ दियो भने काम चाँडै सकिने र गाडी गुड्ने उनको भनाइ छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आइतबार फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै निर्माणका बाँकी कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । 

उनले भने, ‘अब काममा ढिलाई गरिनु हुँदैन । हामीले जतिसक्दो छिटो गाडी गुडाउनुपर्छ । मौसमले साथ दिए  जेठभित्रमा गाडी चलाउनुपर्छ ।’

रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाममा रोकिनु नपर्ने गरी सरकारले ईपीसी मोडलमा २०७८ साल फागुन १२ गते निर्माण कम्पनी आशिष समानान्तर जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० फागुन ११ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । 

तर, विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएको छ । निर्माण कम्पनी जेभीले तोकिएको समयमा काम सम्पन्न नगरेपछि सरकारले २०८१ पुस ८ गतेसम्म म्याद थप गरेको थियो ।

निर्माण कार्य अन्तिम चरणमा पुगेकै बेला कंक्रिटको एउटा प्यानलको ज्वाइन्ट ग्याप बढेको देखिएपछि बनिसकेको पर्खाल भत्काउनुपरेको थियो । त्यसपछि पुनः म्याद थप गरी वैशाखसम्म पुर्याइएको थियो ।

सम्झौताअनुसार तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि कम्पनीलाई थप भार थपिँदै गएको छ । केन्द्रका अनुसार म्याद सकिएको पुस ८ गतेदेखि नै निर्माण कम्पनीले कुल बजेटको ०.०५ प्रतिशत हर्जाना तिर्दै काम गर्दै आएको छ ।

‘फ्लाईओभर’ निर्माणको को कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ ।

 

Share News