काठमाडौं । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको ईभी (विद्युतीय सवारी साधन) पूर्वाधार विकासमा नयाँ कीर्तिमान राख्दै जोमसोममा देशकै सबैभन्दा उच्च स्थानमा रहेको सीसीएस२ चार्जिङ स्टेशन स्थापना गरेको छ ।
कम्पनीले उक्त चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गर्दै यो उपलब्धि केवल इन्जिनियरिङ सफलता मात्र नभई, दिगो परिवहन प्रणालीको दिशामा लिएको ऐतिहासिक कदम भएको जनाएको छ ।
जोमसोमजस्तो दुर्गम भौगोलिक क्षेत्रसम्म ईभी चार्जिङ सुविधा पुगेपछि अब विद्युतीय सवारी प्रयोगकर्ताहरूले सुरक्षित र भरपर्दो यात्राको अनुभव गर्न सक्नेछन् ।
एमएडब्लू वृद्धिले हालसम्म नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा सीसीएस२ चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ । यो विस्तारले न केवल शहरी क्षेत्रलाई समेटेको छ, तर जोमसोमजस्ता कठिन र पर्यटकीय क्षेत्रमा पनि पहुँच पुर्याएको छ ।
कम्पनीका अनुसार जोमसोम चार्जिङ स्टेशनले केवल ईभी पूर्वाधार सुदृढीकरणमा मात्र नभई, वातावरणमैत्री र दिगो पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान दिनेछ । पर्यावरणप्रेमी यात्रुहरूका लागि यो स्टेशन नयाँ आशा र सहजताको प्रतीक बन्ने विश्वास लिइएको छ ।
'हामी जहाँसुकै, जोकोहीका लागि सफा, सुरक्षित र भरपर्दो यातायात सम्भव बनाउने दिशामा काम गरिरहेका छौँ,' कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यो उपलब्धिले नवप्रवर्तन र प्रतिबद्धताको उत्कृष्ट मिसाल प्रस्तुत गर्दै सरकार, उपभोक्ता र निजी क्षेत्रबीचको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।