काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्थतन्त्र सुधार हुने दाबी गरेको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको दिशामा रहेको र अब थप सुधार हुँदै जाने दाबी गरेको हो ।
राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता यथेष्ट रहेको उल्लेख गर्दै कर्जाको औसत ब्याजदर पनि एकल बिन्दुमा झरेको बताएको छ । उपर्युक्त पृष्ठभूमिमा आगामी दिनमा लगानी वातावरणमा थप सुधार हुने र अर्थतन्त्रको उत्पादन क्षमता विस्तार हुनुको साथै विद्यमान उत्पादन क्षमताको उपयोग पनि बढ्दै जाने दाबी राष्ट्र बैंकको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको जानकारी दिँदै २०८१ असोजको बाढी÷पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा व्यवधान आउनुको साथैभारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप परेको बताएको छ । यसका कारण चालु आर्थिक वर्षको दोस्रो त्रयमासमा मुद्रास्फीति केही उच्च रहन गएको उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनकोमूल्य घट्दै गएको र खाद्यान्नको मूल्यमा समेत कमी आएकालेचालु आर्थिक वर्षको तेस्रो त्रयमासमा मुद्रास्फीति न्यून रहन गएको राष्ट्र बैंकको भनाइ छ ।
विश्व भूराजनीतिक तनाव यथावतै रहेको र पछिल्लो समय परिवर्तित अमेरिकी व्यापार नीतिका कारण मुद्रास्फीतिमा चाप पर्ने जोखिम देखिएतापनि पछिल्ला दिनहरुमा ठूला देशहरुबीच द्विपक्षीय व्यापार सम्झौतासमेत हुँदै गएको, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा कमी आइरहेको र भारतको थोक तथा खुद्रा मुद्रास्फीतिसमेत घटिरहेकाले चालु आर्थिक वर्षको वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्र रहने अनुमान राष्ट्र बैंकको छ ।
विगतमा अर्थतन्त्रमा चाप यथावत रहेको बताउँदै आएको राष्ट्र बैंकले नयाँ गभर्नर डा.विश्व पौडेल आएपछि भने अर्थतन्त्र सुधार हुने दाबी गरेको हो ।