गभर्नरलाई रातो झण्डा, माग पुरा हुँदा पनि निराश

काठमाडौं । सेयर बजारका लगानीकर्ताको लामो समयदेखि एउटै माग थियो, ‘सेयर धितो कर्जाको जोखिमभार घटाउनुपर्ने ।’ त्यो माग नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सहजताका साथ पुरा गरिदिए । 

गभर्नर पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिदिए । 

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी समक्ष लगानीकर्ताले ठूलो संघर्ष, लबिङ र राजनीतिक दबाब सिर्जना गर्दा पनि पूरा नगरिदिएको माग पौडेलले भने गभर्नर बनेको चार दिनमै पूरा गरिदिए । यसलाई धेरैले गभर्नर पौडेलले राजनीतिक चरित्र देखाएको बुझाइ पनि राखेका छन् । त्यो अर्कै विषय भए पनि सेयर लगानीकर्ताको लामो संघर्ष, मिहिनेत र दौडधुपले भने काम गरेको छ । उनीहरुको माग पूरा भएको छ । 

तर माग पूरा हुँदा पनि सेयर लगानीकर्ता खुसी भएनन् । सोमबार सेयर बजार बढ्ने अपेक्षा र विश्वास धेरैको थियो । गभर्नर पौडेलले पनि आफ्नो आगमनमा सेयर बजारले हरियो झण्डा हल्लाओस् भन्ने थियो । त्यही मनोकांक्षाका साथ उनले मौद्रिक नीतिको समीक्षामार्फत अन्य कुनै वित्तीय उपकरण र नीतिहरु नचलाएर सेयरधितो कर्जाको जोखिमभार घटाइदिए । 

तर, गभर्नर पौडेलले गरेको खुला दिलमा लगानीकर्ता सन्तुष्ट बन्न सकेनन् । उसो त पौडेल गभर्नर बनेकोमा लगानीकर्तामा पृथक किसिमको शंसय छ । उनी जेठ ६ गते मंगलबार गभर्नरमा नियुक्त भएका थिए । उनले पदभार ग्रहण जेठ ७ गते बुधबार गरेका थिए । नियुक्त हुने दिन बजार बन्द भइसकेको थियो । उनी गभर्नरका रुपमा पदभार ग्रहण गर्दाको दिन पनि बजार ७.९४ प्रतिशतले घटेको थियो । 

उनी गभर्नर बनेको तेस्रो दिन अर्थात् बिहीबार बजार १९.०४ अंकले बढेको थियो । यस साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक ८.५७ प्रतिशतले घट्यो । आइतबार बजार बन्द भइसकेपछि राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । सोही समीक्षामार्फत जोखिमभार घटाइएपछि सोमबार सेयर बजारमा हरियाली छाउने अपेक्षा अधिकांशको थियो । 

त्यो अपेक्षा गभर्नर पौडेलको पनि थियो । किनकि गभर्नर बनेपछि सेयर बजारले आफूलाई स्वागत गरोस् भन्ने अपेक्षा उनमा थियो । तर, उनको त्यो अपेक्षालाई सोमबारका लगानीकर्ताले पूरा हुन दिएनन् । सोमबार पनि नेप्से परिसूचक ५.२१ अंकले घट्यो । 

सोमबार नेप्से परिसूचक घटेर २६७४ बिन्दुमा झरेको छ । सोमबार ९२ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको मूल्य घटेको छ ।  ३३७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

पछिल्लो समय पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको भन्दा लगानीकर्ता राष्ट्र बैंकको नीतिमा बढी निर्भर हुने गरेका छन् । अर्थात् राष्ट्र बैंकको नीतिले लगानीकर्तालाई बढी छुने गरेको छ । यसअघि राष्ट्र बैंकले गरेको सेयरधितो कर्जाको सीमाको विषयले लगानीकर्तामा ठूलो निराशा ल्याएको थियो । बजार निरन्तर घट्नुमा राष्ट्र बैंकको नीति रहेको बुझाइ अधिकांशको छ । 

एक सेयर लगानीकर्ताले माग पूरा भए पनि सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको सुनाए । ‘जोखिमभार घट्नुपर्छ भन्ने माग हाम्रो थियो, माग पनि पूरा भयो तर यो माग मात्रै पूरा भएर बजार बढ्ने अवस्था छैन, किनकि लगानीकर्तामा त्यो उत्साह छैन,’ उनले भने । 

Share News