काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । निजी उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार आयोजना गरेको ‘इप्पान डेभलोपर्स मिट-२०२५’ मा बोल्दै उनले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको बताए ।
‘निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी ल्याउन लागिरहेको विद्युत विद्येयकलाई अगाडि बढाउन रातदिन नभनी काम गरिरहेका छौँ, एक महिनाभित्र संसदबाट पास हुन्छ,’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले मन्त्रालयले उर्जा उत्पादनका क्रममा देखिएका बाधा व्यवधानलाई चिरेर काम गर्न लागिरहेको बताए ।
‘यो डेभलोपर्स मात्र समस्या होइन, मुलुककै समस्या हो, यो समस्याबाट माथि उठ्न सकिएन भने मुलुक नै समस्यामा पर्छ,’ उनले भने ।
सरकारले निजी क्षेत्रलाई साथमा लिएर उर्जा क्षेत्रको विकास गर्ने भनेर २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न उर्जा उत्पादकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले उर्जा उत्पादनका क्रममा आउन सक्ने विपत्तिका कारण हुने समस्या समाधान गर्न सरकार गम्भीर रहेको उल्लेख गरे ।
सरकारले ल्याएको उर्जा विकास मार्ग चित्रलाई कार्यान्वयन गर्नका लागि उर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अर्थमन्त्रालय समिति र उपसमिति गठन गरिएको उनले स्पष्ट पारे । पुरानो मानसिकता र पुरानो कानूनलाई परिमार्जन गर्दै अगाडि बढिने उनको भनाइ छ । उनले निजी क्षेत्रको समस्यालाई सरकारले आफ्नो समस्याका रुपमा लिएको समेत बताए ।
प्रधानमन्त्रीले विकास निर्माणका क्रममा देखिएका अप्ठ्यारालाई लिएर आउन सबै मन्त्रीलाई स्पष्ट निर्देशन दिएको बताउँदै मन्त्री खड्काले भने, ‘यो व्यक्तिगत समस्या होइन, मुलुककै समस्या हो, यसलाई समाधान गर्न सरकार गम्भीर छ ।’
उर्जा सचिव सुरेश आचार्यले सरकारले ल्याएको उर्जा विकास मार्ग चित्रलाई कार्यान्वयन गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले उक्त मार्ग चित्रलाई कार्यान्वयन गर्न मन्त्रालयले विभिन्न कार्यदल बनाएर अगाडि बढेको स्पष्ट पारे । सचिव आचार्यले सरकारले ल्याएको नीति तथा कार्यक्रममा जलाशय युक्त आयोजनालाई विशेष रुपमा अगाडि बढाएको बताए ।
विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई समावेश गरिएकाले सरकारले राखेको उर्जा विकासको लक्ष्य पुरा गर्न सहज हुने धारणा राखे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जा विकास मार्ग चित्रलाई कार्यान्वयन गर्नका लागि सरकारले भर्खरै विद्युत खरिद सम्झौता (पीपीपी)लाई अगाडि बढाएको बताए ।
इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा विकास मार्ग चित्रलाई कार्यान्वयन गर्नका लागि शक्तिशाली निकाय आवश्यक रहेको बताए । उर्जा, वन र कानून मन्त्रालयबीच समन्वय नहुँदा नेपालको उर्जा क्षेत्रको विकासले गति लिन नसकेको उनको भनाइ छ ।