काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत रकम कायम राख्नुपर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई जेठ १८ गतेदेखि अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत कायम गर्न निर्देशन दिएको हो ।
‘बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ (चार) प्रतिशत अनिवार्य नगद मौज्दात बापत यस बैंकमा राख्नु पर्नेछ ।
यस व्यवस्था बमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत रकम जेठ १८ गतेदेखि दैनिक रुपमा यस बैंकमा राख्नु पर्नेछ,’ राष्ट्र बैंकले भनेको छ ।
यसअघि अनिवार्य नगद मौज्दातको न्यूनतम् ७० प्रतिशत कायम गरे हुन्थ्यो ।
यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिम भार १ सय प्रतिशत कायम राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसअघि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १२५ प्रतिशत कायम राख्नुपर्ने व्यवस्था थियो ।