काठमाडौं । सुन ती चीजहरूमा पर्दछ जसको संसारमा सबैभन्दा धेरै माग हुन्छ । सबैभन्दा धेरै सुन अमेरिकासँग ८ हजार १०० टनभन्दा बढी छ । जब संसारमा अप्ठ्यारो अवस्था आउँछ तब देशहरूले सुन किन्न सुरु गर्छन् । त्यसैले सुनको मूल्य बढ्छ । तर पनि किनमेल रोकिँदैन । यसको कारण हो- सुनलाई सुरक्षित लगानी मानिन्छ । अधिकांश मानिसहरू पनि सुनलाई लगानीको रूपमा किन्छन्, किनकि पछिल्लो केही समयदेखि यसको मूल्य तीव्र गतिमा बढेको छ । झण्डै तीन वर्षमै सुनको मूल्य दोब्बर भइसकेको छ । यसैले सुनको माग पनि बढिरहेको हो ।
केही देशहरू छन् जहाँको जमिनमा ठूलो मात्रामा सुन पाइन्छ । ती देशहरूले सुनको उत्खनन गर्छन् र त्यसलाई प्रशोधन गरी प्रयोगयोग्य बनाउँछन् । खानीबाट सुन निकालेर हामीले देख्ने सुनको स्वरूपमा ल्याउन धेरै चरणहरूबाट गुज्रिनुपर्छ । पृथ्वीको भित्री चट्टानहरूमा मात्र होइन, सुन महासागरभित्र पनि पाइन्छ ।
कहाँबाट आयो सुन ?
पृथ्वीमा सुनको इतिहास पृथ्वी निर्माणसँग जोडिएको छ । सुपरनोभा वा ताराहरूको विनाशकारी विस्फोट र टक्कर ब्रह्माण्डमा भएको थियो । यसले अपार ऊर्जा उत्पन्न गर्यो । ती ताराभित्रको दबाव यति उच्च थियो कि प्रोटोन र इलेक्ट्रोनहरू केन्द्रतर्फ धकेलिन बाध्य भए । यसले न्यूट्रोनको निर्माण गर्यो । त्यसपछि फलामले तीव्र गतिमा न्यूट्रोन समात्दा यूरेनियम, लेड, चाँदी र सुनजस्ता भारी तत्वहरू बनेका हुन् । यो प्रक्रिया धेरै छिटो भयो । त्यसपछि ती तत्वहरू अन्तरिक्षमा फैलिए । यसरी सुन र प्लेटिनमजस्ता धातुहरू पृथ्वी निर्माणको क्रममा यहाँ आइपुगे ।
झण्डै ४.५ अर्ब वर्षअघिको कुरा हो । त्यो बेला पृथ्वी एउटा मंगल ग्रहजत्रो चट्टानसँग ठोक्किएको थियो । यस टक्करबाट निस्केका टुक्राहरूबाट चन्द्रमाको निर्माण भयो । सूर्यको परिक्रमा गरिरहेका धेरै चट्टानहरूमध्ये केही पृथ्वीमा खसे । यस घटनालाई ‘लेट एक्रीशन’ भनिन्छ । यो ग्रहहरूको विकासको झण्डै १ प्रतिशत हो । यस अवधिमा पृथ्वीमा खसेका केही चट्टानहरूमा सुनजस्ता धातुका अंश थिए । यस अर्थमा भन्न सकिन्छ- पृथ्वीको सुन मृत ताराहरूको अवशेष हो ।
धेरै गहिरा सुन खानी
पृथ्वीमा धेरै गहिरा सुन खानीहरू छन् । यसबाट प्रस्ट हुन्छ कि सुन सतहमा होइन, जमिनको गहिराइमा पाइन्छ । दक्षिण अफ्रिकाको मपोनेङ्ग संसारको सबैभन्दा गहिरो सुन खानी हो । यो झण्डै ४ किलोमिटर गहिरो छ ।
अब प्रश्न उठ्छ- सुन आखिर यति गहिराइमा कसरी पुग्यो ? पृथ्वीलाई चार भागमा बाँडिएको छस् इनर कोर, आउटर कोर, म्यान्टल र क्रस्ट । क्रस्ट मानेको सतह हो र यसको मुनि म्यान्टल हुन्छ । त्यसको मुनि आउटर कोर र अन्त्यमा इनर कोर पर्छ ।
वैज्ञानिकहरूका अनुसार जब पृथ्वीमा क्षुद्रग्रहहरूको टक्कर भयो, तब ती शक्तिशाली टक्करहरूले पृथ्वीको सतह हल्लाए । यसले गर्दा सतहमै रहेको सुनजस्ता भारी धातुहरू तल डुब्न थाले । जब ती अर्धपग्लेको म्यान्टलमा पुगे, त्यो धातु झन् तल डुब्न थाल्यो । त्यसपछि पग्लिएको म्यान्टल जम्दै जाँदा धातुहरू त्यहीँ फसे । यही कारणले सुन जमिनको गहिराइमा पाइन्छ ।
धेरै स्वरूपमा पाइन्छ सुन
पृथ्वीभित्र सुन कुनै ढिक्का वा बिस्कुटको रूपमा पाइँदैन । यो अनेकौं स्वरूपमा पाइन्छ । केही सुन चट्टानको अयस्क ९अयस्क भनेको पृथ्वीको भित्री भाग वा सतहमा पाइने त्यस्तो ढुंगा वा खनिज हो, जसमा धातु मिसिएको हुन्छ० । यो कहिलेकाहीं गुच्छामा, कहिले शुद्ध तत्त्वका रूपमा र कहिले प्राकृतिक मिश्र धातु ‘इलेक्ट्रम’मा चाँदीसँग भेटिन्छ । समयक्रममा भएको पानी, हावा र हिमनदीको कटावले सुनलाई अन्य खनिजबाट अलग गर्छ । सुन भारी भएकाले यो तलतिर डुब्छ । कहिलेकाहीं पानीको बहावसँग बग्दै यो महासागरसम्म पुगेर त्यहाँ जम्मा हुन्छ ।
कहाँ-कहाँ पाइन्छ सुन?
पृथ्वीबाहेक सुन चन्द्रमामा पनि पाइन्छ । यद्यपि त्यहाँ यसको मात्रा पृथ्वीको तुलनामा निकै कम छ । सुन मंगल ग्रहमा पनि पाइन्छ । हाम्रोसँग मंगल ग्रहको सिधा नमुना छैन, तर हामीसँग यस्ता उल्कापिण्ड छन् जुन मंगलबाट आएको भनिन्छ । तिनका आइसोटोप गुणहरूले प्रमाणित गर्छन् कि ती मंगलसँग सम्बन्धित छन् । यस्ता उल्कापिण्डहरूमा पनि सुन र प्लाटिनमको मात्रा पृथ्वीको तुलनामा कमै छ ।