काठमाडौं । विद्युत नियमन आयोगले सगरमाथा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि सहमति प्रदान गरेको छ । नियमन आयोगको जेठ ११ गतेको बैठकले कम्पनीलाई चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो ।
विद्युत नियमन आयोग नियमावली २०७५ को नियम ४५, विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ५, ६ र ७ बमोजिम सहमति प्रदान गरेको आयोगका शाखा अधिकृत विकास डंगोलले जानकारी दिए ।
आयोगको विसं २०८१ साउन ८ गतेको बैठकबाट तत्काल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृति प्राप्त गरेको थियो । विसं २०८१ चैत ४ मा हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृतिको लागि निवेदन पेश गरेको थियो ।
सगरमाथा जलविद्युत कम्पनी ९.६ मेगावाट क्षमताको सुपर माइ–ए जलविद्युत आयोजनाको प्रवद्र्धक हो ।