काठमाडौं । सांसद सूर्य थापाले नेपाली नोटमा तस्बिर परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सामेबार अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
‘नोटहरुमा कुन-कुन तस्बिर राख्ने हो, यो विषयमा पनि छलफल हुन आवश्यक छ,’ उनले भने ।
उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्नुपर्ने धारणा राखे । ‘म राजावादी होइन, राजा फाल्नका लागि म लडेको हुँ । तर, हामीले पृथ्वी नारायण शाहको कदर गर्नुपर्छ, उहाँले नेपाल एकीकरण गर्नुभयो, उहाँलाई नोटमा राख्दा राष्ट्र बैंक र नेपालकै इज्जत बढ्छ,’ उनले भने, ‘भगवान गौतम बुद्धको फोटो नभएको पनि के नेपाली नोट ?’
यस्तै, उनले अहिले सर्वसाधारणको निक्षेप संकटमा रहेको सुनाउँदै २२ प्रतिशत खराब कर्जा पुगेका बैंक रहेकोले त्यसको असर अन्य बैंक पनि पर्ने बताए ।
‘बैंक वित्तीय क्षेत्रमा सुशासन सुनिश्चित गर्नका लागि कानुनले गाइड गर्नुपर्छ, निक्षेप संरक्षण र लगानीको वातावरण सिर्जना गर्नुपर्छ, बैंकबाट ऋण लिने तर ऋण तिर्नु पर्दैन भन्नेलाई हामीले कसरी कानूनी व्यवस्था गर्ने ? त्यो अपराध हो । तर, हामी अभियान सञ्चालन गर्छौं, यसलाई रोक्नुपर्छ,’ उनले भने ।
यस्तै, बैंकमा सञ्चालक स्वतन्त्र हुनुपर्ने उनको राय छ । ‘बैंकमा मिलेमतो हुने, कार्टेलिङ हुने विषय रोक्नुपर्छ, विधेयकका विषयमा आकाश खोल्न बाँकी छ,’ उनले भने ।