अमेरिका र चीनबीच आरोप-प्रत्यारोप, दूर्लभ खनिज विवादले झनै तनाव

काठमाडौं । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू- अमेरिका र चीनबीचको सम्बन्ध दिन प्रतिदिन बिग्रँदो छ । चीनबाट अमेरिका जाने जहाजहरूको सङ्ख्यामा लगातार गिरावट आइरहेको छ । पछिल्ला १५ दिनमा यो सङ्ख्या फेब्रुअरीपछि सबैभन्दा न्यूनतम् तहमा पुगेको छ । अप्रिलको मध्यदेखि यसमा ५० प्रतिशत गिरावट आइसकेको छ । 

अमेरिकाका वित्त मन्त्रीका अनुसार चीनले विभिन्न प्रकारका सामग्रीहरू रोकिरहेको छ, जसमा रेयर अर्थ (दुर्लभ खनिज) पनि समावेश छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीनले गत महिना दुबै देशबीच भएको व्यापार सम्झौताको उल्लङ्घन गरेको बताएका छन् । सो सम्झौता पछि दुबै देशबीच चलिरहेको ट्यारिफ युद्ध रोकिएको थियो । अर्कोतर्फ चीनले अमेरिकामाथि नयाँ आर्थिक तथा व्यापारिक विवाद भड्काएको आरोप लगाएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी चीनले व्यापार वार्ताको सम्झौतालाई कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ । उसले अमेरिकाले यसलाई गम्भीर रूपमा कमजोर पारिरहेको आरोप लगाएको छ । 

मन्त्रालयका अनुसार अमेरिकाले एकतर्फी रूपमा नयाँ आर्थिक तथा व्यापारिक विवादहरू उत्पन्न गराइरहेको छ, जसले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरता बढाइरहेको छ । 

यदि अमेरिका आफ्ना निर्णयहरू आफैले मात्र गर्न खोजिरहन्छ र चीनका हितहरूलाई कमजोर बनाउँदै जान्छ भने चीनले आफ्ना वैध अधिकार र हितहरूको रक्षाका लागि कडा र प्रभावकारी कदम चाल्ने मन्त्रालयको चेतावनी छ । 

जेनेभामा भएको सम्झौता

यो घटनाक्रम ट्रम्पको शुक्रबार दिएको अभिव्यक्तिबाट आएको हो । उनले भनेका थिए कि चीनले अमेरिकासँग भएको सम्झौतोलाई पूर्ण रूपमा उल्लङ्घन गरेको छ । ट्रम्पले ट्रूथमा पोस्ट गर्दै भनेका छन् कि उनले चीनलाई एक अत्यन्तै खराब स्थितिबाट जोगाउन त्यससँग हतारमा सम्झौता गरेका थिए । उनले लेखका छन्, ‘मिस्टर नाइस गाइ बन्नुको यही नतिजा हो ।’ दुबै देशबीच केही हप्ताअघि जेनेभामा एउटा सम्झौता भएको थियो, जसअनुसार अप्रिलमा एकअर्कामाथि लगाइएको ट्यारिफमा कटौती गरिएको थियो ।

यो व्यवस्था ९० दिनका लागि मात्र गरिएको थियो । तर अब यो सम्झौता टुट्ने नजिक पुगेको छ, किनभने दुबै पक्षले एकअर्कामाथि सम्झौताको भावना विपरीत कार्य गरिरहेको आरोप लगाइरहेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुबै पक्षबीचको वार्ता हाल रोकिन पुगेको छ । उनीहरूले वार्तामा प्रगति ल्याउन राष्ट्रपति ट्रम्प र चिनियाँ नेता सी चिनफिङको सहभागिता आवश्यक रहेको बताउँछन् । 

दुर्लभ खनिजमा प्रतिबन्ध

अमेरिकी अधिकारीहरूले सम्झौता भएपछि चीनले दुर्लभ खनिज निर्यातमा लगाइएको प्रतिबन्ध घटाउने आशा गरेका थिए । यी खनिजहरू आईफोन, इलेक्ट्रिक गाडीहरूदेखि एफ-३५ लडाकु विमानहरू र क्षेप्यास्त्र प्रणालीहरूमा प्रयोग हुँदै आइरहेका छन् । 

उता चीनले अमेरिकाले आफ्ना कम्पनीहरूका लागि प्रविधिको बिक्री सीमित गरिरहेको आरोप लगाएको छ । साथै अमेरिकाले चिनियाँ विद्यार्थीहरूको सङ्ख्या सीमित गर्नसमेत कदम चालेको छ । यसले देखाउँछ कि दुबै देशबीचको प्रतिस्पर्धा अब केवल व्यापारमा मात्र सीमित छैन । चीनको निर्माण क्षेत्रको गतिविधि मे महिनामा लगातार दोस्रो महिनासम्म घटिरहेको छ ।

Share News