काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेसँगै सर्वसाधारणहरू प्रत्यक्ष मर्कामा परेका छन् । सोमबार बिहानदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प छ । यातायात अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि घरबाट निस्किएकाहरू सडकमा अलपत्र छन् ।
सोमबारदेखि गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले देशव्यापी रूपमा आन्दोलन गरेका हुन् ।
धादिङका सुरेन्द्र भण्डारी गाडी नचल्दा अलपत्र परेका छन् । उनलाई अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र बनेपा जानुपर्ने थियो । तर, गाडी चलेपछि उनलाई कहाँ जाऔं के गरौं भयो ।
उनका छोरा अपाङ्ग बाल अस्पताल बनेपाको बेडमा छन् । छोराका लागि खानेकुरा, लत्ता कपडा लिएर जानुपर्नेमा उनी अलपत्र अवस्थामा परेका छन् । उनले भने, ‘बिहानै चन्द्रागिरीबाट साझा यातायात चढी रत्नपार्कसम्म आएँ । यहाँदेखि सधैं बनेपा गइरहन्थें । तर आज गाडी नै भेट्टाइरहेको छैन । अस्पतालमा बाबुको खुट्टाको अप्रेसन गरेर राखेको छ । बाबुका लागि खानेकुरा र लत्ताकपडा लिएर जानुपर्ने छ तर यता गाडी पाइँदैन । पठाओ अनि इन्ड्राइभमा जाऊँ भनेको भाडा दोब्बर देखाइरहेको छ ।’
भण्डारीले आज पठाओ र इन्ड्राइभले पनि मौका पारेर बढी भाडा असुलिरहेको गुनासो पोखे । आफूहरू जस्ता आर्थिक अवस्था कमजोर भएका गरिखाने सर्वसाधारणलाई गाह्रो परिरहेको उनको भनाइ छ ।
यसैगरी, सार्वजनिक यातायात बन्द हुँदा निकै सास्ती खेप्नुपरेको निराजन रिजाल बताउँछन् । उनले क्याम्पस पुग्नका लागि माछापोखरीबाट साझा यातायातमा रत्नपार्क आएको बताए ।
उनी भन्छन्,‘ धेरै सास्ती खेपिरहेका छु । क्याम्पस जानुपर्ने ढिलो भइसक्यो । धेरै हिँडिसकें । लगनखेल पुग्नु पर्नेछ । अब क्याम्पस जाने कि नजाने भनेर दुविधामा छु । यस्तो त नगरिदिनुपर्ने हो । हामी विद्यार्थीलाई अब समस्या हुने भयो । ’
यस्तै, सडकमा भेटिएका गणेश घिमिरे हरेक संघ संगठनहरूले आन्दोलन गरिरहँदा यसको मारमा सर्वसाधारण पर्ने गरेको बताउँछन् । यो विषयमा सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ ।
उपत्यकामा ४० वटा साझा बस सञ्चालनमा
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प रहँदा साझा यातायात भने सञ्चालनमै रहेको छ । उपत्यकाका विभिन्न रुटमा बस सञ्चालनमै रहेको साझा यातायातका अनुगमन सहायक हीरामणि खनालले बताए ।
उनले भने, ‘ सार्वजनिक बसहरू बन्द हुँदा बिहानैदेखि सर्वसाधारणको खासै चहलपहल छैन । सबैले पठाओ, इन्ड्राइभ गर्न सक्दैनन् । ट्याक्सी चढ्न सक्दैनन् । जनताले दुःख नपाउन् भनेर हामीले ४० वटा बस सञ्चालनमा राखेको छौं ।’
उनका अनुसार साझा यातायातले प्रहरीसँग सहकार्य गरी प्रत्येक गाडीमा प्रहरी राखेर गाडी सञ्चालन गरिरहेको छ।
मौका छोप्दै पठाओ र इन्ड्राइभ
सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको मौकामा राइड सेयरिङहरूले सर्वसाधारणलाई मनपरी भाडा असुलेको गुनासो गरेका छन् । सार्वजनिक गाडी नचल्दा सर्वसाधारणहरू दोब्बर पैसा तिरी पठाओ तथा इन्ड्राइभमा यात्रा गर्न बाध्य छन् भने धेरैजना विद्यालय र अफिस जान पाएका छैनन् ।
सार्वजनिक यातायात ठप्प भएको मौकामा बाटोभरि पठाओ/इन्ड्राइभका राइडरहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ । उनीहरूले अफलाइनमा बसी यात्रुसँग बार्गेनिङ गरिरहेका छन् ।
सार्वजनिक बसमा चढ्ने यात्रुहरू सबै पठाओ र इन्ड्राइभमै जान थालेपछि राइडरको कमी भएको र भाडा बढेको चालक रविन खत्री बताउँछन् । उनका अनुसार पठाओ र इन्ड्राइभको भाडा राइडरले बढाउन मिल्दैन । भाडा एपले नै आफै बढाउने गरेको उनको भनाइ छ ।
उनले भने, ‘पठाओ र इन्ड्राइभको हिजोअस्तिको तुलनामा भाडा आज दोब्बरले बढेको छ । पठाओ र इन्ड्राइभ एपले जानीजानी यस्तो गरिरहेका छन् ।’
उनले आफूहरूले १० देखि १५ रुपैयाँ मात्रै बढाउन मिल्ने बताउँदै यो माथिबाटै बढाएर आएपछि आफूहरूले त्यत्तिकै बस्न नमिल्ने उनको भनाइ छ ।
उनले भने,‘हामीले यात्रुको इच्छाअनुसार मात्रै हामीले एसेप्ट गछौं । यस्तो नगर्नुपर्ने हो । पठाओ र इन्ड्राइभमा फिक्स रेट हुनुपर्ने हो तर त्यस्तो छैन । पानी पर्दा जाम हुदाँखेरी रेट बढ्ने गरेको छ ।’
प्रहरीका दुई बस निःशुल्क सञ्चालनमा
नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन ल्याएको छ । प्रहरीले यात्रुको सहजका लागि उक्त बस सञ्चालनमा ल्याएको जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयलका अनुसार उपत्यकाको दुई रुटमा दुईवटा बस सञ्चालनमा ल्याएको हो । यात्रुहरूको आवातजावत सहज बनाउनका लागि प्रहरी निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
गिरीका अनुसार बस सेवा आजदेखि सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘हामीले अलपत्र परेका यात्रुहरूको सहजताका लागि उपत्यकामा दुईवटा बसहरू सञ्चालनमा ल्याएका छौं । यी दुबै बस उपत्यकाको विभिन्न ठाउँमा सञ्चालन छन् ।’
रुट नम्बर १ मा नयाँबसपार्क, बालाजु, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, जय नेपाल हल, पुतलीसडक,माइतीघर, थापाथली, जाउलाखेल, लगनखेल, सातदोबाटो, बल्खु, कंलकी, स्वयम्भुको रुटमा चलिरहेका छन् । रुट नम्बर २ मा एयरपार्ट, कोटेश्वर, ठिमी, सल्लघारी, सुर्यविनायक, चाविल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, रातोपल र गौशाला रुटमा सेवा दिइरहेका छन् ।
यसैगरी, सार्वजनिक बस ठप्प हुँदा उपत्यकामा यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि सशस्त्र प्रहरी बल नेपालले पनि दुईवटा बस नि:शुल्क सञ्चालनमा ल्याएको छ ।
सशस्त्र प्रहरीका अनुसार सर्वसाधारणको सहजताको लागि बस नि:शुल्क रुपमा सञ्चालनमा ल्याइएको हो । गाडीमा चालकसहित तीन/तीन जना सशस्त्र प्रहरी समेत रहेका छन् ।
सशस्त्र प्रहरीका गाडीका चालकले भने, ‘ यातायात व्यवसायीसँग सरकार वार्ता गरिरहेको छ । यदि वार्तामा सहमति जुटेन भने अवस्था यस्तै रहेको खण्डमा उपत्यकाभन्दा बाहिरबाट समेत गाडी मगाउने कुरा भइरहेको छ । मंगलबारसम्म सम्भवत: यसको वार्ता सकारात्मकै आउँछ होला । सोमबारको जस्तो न होला ।’
बढी भाडा नलिन निर्देशन
प्रहरीले यात्रुहरूसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । कसैले नियम विपरीत यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०४ मा कल गरेर जानकारी गराउन अनुरोध गरेको छ । उजुरी दिनसमेत प्रहरीले आग्रह गरेको छ ।