२८.३ मेगावाटको मध्य चमेलियामा नेपाल बैंक र नबिल बैंकले ७५ प्रतिशत लगानी गर्ने

काठमाडौं । दार्चुला पावर लिमिटेडले २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनामा बनाउने भएको छ । आयोजनामा नेपाल बैंक र नबिल बैंकले लगानी गर्ने भएका छन् ।

बुधबार सम्पन्न वित्तीय व्यवस्थापन सम्झौतामा दार्चुला पावरका सञ्चालक समितिका अध्यक्ष सञ्जीव न्यौपाने, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तीलकराज पाण्डेय र नबिल बैंकका सीईओ मनोज ज्ञवालीले हस्ताक्षर गरे ।

सहमतिअनुसार अब आयोजनामा नेपाल बैंक र नबिल बैंकले कुल लागत पाँच अर्ब ६६ करोडको ७५ प्रतिशत ऋण लगानी गर्नेछन् ।

दार्चुला पावरमा स्वपुँजीको २५ प्रतिशतमा ५१ प्रतिशत अपि पावर कम्पनीको लगानी हुनेछ भने १९ प्रतिशत अन्य जलविद्युत प्रवद्र्धक र बाँकी सर्वसाधारण एवं स्थानीयको लगानी हुनेछ । 

यो आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न हुने जनाइएको छ । आयोजनाबाट वार्षिक १८५ गिगावाट विद्युत उत्पादन हुने र नौ वर्षमा १३३ करोड आम्दानी हुने अनुमान छ ।

यस जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने छ । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिने जनाइएको छ । 

दार्चुला पावर लिमिटेड अपि पावर लिमिटेडको सहायक कम्पनी हो । 

Share News