काठमाडौं । आइतबार नेपाल धितोपत्र बोर्डले आफ्नो ३३औं वार्षिकोत्सव मनायो । वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल । पछिल्लो समय बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि जलविद्युत कम्पनीको आईपीओ स्वीकृतमा पैसा मागेको लगायत विभिन्न आरोप लागिरहेको बेला अर्थमन्त्री पौडेलले सार्वजनिक कार्यक्रममै उनलाई केही सुझावहरु दिए ।
अध्यक्ष श्रेष्ठलाई अर्थमन्त्री पौडेलको पहिलो सुझाव थियो– बिचौलियाको फन्दामा नपर्नू । अर्थमन्त्री पौडेलले बिचौलियाको प्रभावमा नपरेर स्वतन्त्र रुपमा काम गर्न श्रेष्ठलाई सुझाव दिए । बोर्डलाई प्रभाव र दबाबमा पार्ने धेरै हुने भएकोले त्यसबाट माथि उठेर काम गर्न उनले सुझाव दए ।
अर्थमन्त्री पौडेलको दोस्रो सुझाव थियो– इन्साइडर ट्रेडिङको रोक । उनले पुँजी बजारका सन्दर्भमा हुने विभिन्न टीका टिप्पणी, इन्साइडर ट्रेडिङ तथा अपारदर्शी काम रोक्न सक्नुपर्ने धारणा पनि राखे । उनले विभिन्न नीतिगत प्रक्रियामा पनि पारदर्शीता अपनाउन आग्रह गरे ।
अर्थमन्त्री पौडेलले अध्यक्ष श्रेष्ठलाई लिएको तेस्रो सुझाव थियो– हात बाँधेर नबस्नू । उनले कार्यक्रममा भने, ‘वर्षहरु बित्दै जान्छन्, अध्यक्षका रुपमा कति समय व्यतित भयो भनेर मात्रै लिनु हुँदैन, धितोपत्र बोर्डको नियामकिय भूमिका बलियो बनाउन सक्नुपर्छ, केही काम गरेर देखाउनुपर्छ,’ उनले भने ।
उनले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट रहेको पुँजी बजारको नियामक सरह सेबोनले समेत आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
उनले अध्यक्ष श्रेष्ठलाई कारवाही प्रक्रियामा पनि निर्मम हुन सुझाव दिएका छन् । आफू पनि गल्ति नगर्न र गल्ति गर्नेलाई पनि नछोड्न सुझाव दिए । ‘धितोपत्रको भूमिकालाई गुणात्मक रूपमा बढाउन खोजिएको छ, गल्ती गर्न दिनु हुँदैन, गल्ति गर्नेलाई कारवाही गर्न पनि पछाडि हट्नु हुँदैन, राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्छ,’ उनले भने ।
उनले कार्यक्रममा अध्यक्ष श्रेष्ठलाई दिएको पाँचौ सुझाव हो– पुँजी बजारमा नयाँ उपकरण ल्याउनु पर्ने । ‘सबै लगानीकर्ताले ढुक्क भएर काम गर्ने वातावरण बनाउनुपर्छ, पुँजी बजारमा नयाँ उपकरण ल्याउनुपर्छ,’ उनले भने ।
यस्तै, उनले पुँजी बजार अर्थतन्त्रको ऐना भएको बताउँदै पुँजी बजारको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्न सक्ने धारणा राखे ।