काठमाडौं । चीनले केही रेयर अर्थ मेटल्स (दुर्लभ पृथ्वी धातुहरू) को निर्यात स्वीकृति दिएको छ । यो कदम अमेरिका र चीनबीच हुन लागेको वार्ताको पूर्वसन्ध्यामा लिइएको हो । दुबै देशका प्रतिनिधिमण्डलहरू सोमबार युकेमा व्यापार वार्तामा सहभागी हुँदैछन् । यसबाट दुई देशबीचको तनाव कम हुन सक्ने अनुमान गरिएको छ ।
चीनको वाणिज्य मन्त्रालयले केही निर्यात आवेदनहरूलाई स्वीकृति दिएको जानकारी दिएको छ । तर मन्त्रालयले कुन देश वा उद्योगहरूलाई यो अनुमति दिइएको हो भन्ने कुरा भने स्पष्ट गरेको छैन । मन्त्रालयका अनुसार रोबोटिक्स र इलेक्ट्रिक सवारीसाधन (ईभी) का क्षेत्रमा यी खनिजहरूको माग तीव्र रूपमा बढिरहेको छ । मन्त्रालयले अझै पनि नियम पालना गर्ने अन्य आवेदनहरूको समीक्षा र स्वीकृति प्रक्रिया जारी राख्ने बताएको छ ।
के हो रेयर अर्थ मेटल्स ?
रेयर अर्थ मेटल्स भन्नाले १७ प्रकारका रासायनिक तत्वहरूको समूहलाई जनाइन्छ । यी तत्वहरूको प्रयोग मोबाइल फोन, कम्प्युटर, इलेक्ट्रिक सवारीसाधन लगायतका प्रविधियुक्त सामग्रीहरू बनाउनमा गरिन्छ । यी सामग्रीहरूमा रेयर अर्थ म्याग्नेट (दुर्लभ पृथ्वी चुम्बक) पनि समावेश छन् । चीन विश्वको सबैभन्दा ठूलो उत्पादक मुलुक हो, जसका कारण चीनका निर्णयहरूको असर विश्वव्यापी व्यापारमा पर्छ ।
अमेरिका र चीनबीच व्यापारिक द्वन्द्व चलिरहेको अवस्थामा चीनको यो कदम दुवै देशबीचको सम्बन्ध सुधार गर्न सहायक हुन सक्छ ।
भारतलाई उपेक्षा
भारतमा अटोमोबाइल उद्योगहरू हाल रेयर अर्थ म्याग्नेटको अभावसँग जुधिरहेका छन् । यी म्याग्नेटहरू इलेक्ट्रिक गाडीहरू र उच्च-प्रविधि उद्योगका लागि अत्यावश्यक मानिन्छन् ।
ब्लूमबर्गको रिपोर्ट अनुसार चीनले भारततर्फ जान लागेका यस्ता म्याग्नेटको कम्तिमा दुई निर्यात आवेदन अस्वीकार गरिसकेको छ । यसले भारतमा चाँडै नै अटोमोबाइल उत्पादनमा रुकावट आउन सक्ने डर देखिएको छ ।
उद्योग र सरकारी अधिकारीहरूका अनुसार एउटै अन्तर्राष्ट्रिय कम्पनीका जर्मनी र अमेरिका शाखाहरूका लागि त निर्यात अनुमति दिइएको छ, तर त्यसै कम्पनीको भारतीय शाखाका लागि भने सोही अनुरोध अस्वीकार गरिएको छ ।
ब्लूमबर्गको रिपोर्टअनुसार भारत सरकारद्वारा समर्थनप्राप्त कम्तिमा ३० वटा भारतीय आवेदनहरू अझै पनि चीनबाट स्वीकृतिको प्रतीक्षामा छन्, जबकि अन्य मुलुकका १० भन्दा बढी आवेदनहरूलाई अनुमोदन दिइसकिएको छ ।
४ अप्रिलदेखि चीनले सातवटा रेयर अर्थ मेटल्सको निर्यातमा कडा नियम लागू गरेपछि भारतीय अटो पार्ट्स उत्पादकहरूको सामग्री चिनियाँ बन्दरगाहहरूमा अड्किएको छ।
नयाँ नियम: ४५ दिनको प्रक्रिया
नयाँ नियमअनुसार आयातकर्ताहरूले यी म्याग्नेटहरू कुनै पनि सैन्य प्रयोजनमा प्रयोग नहुने र अमेरिका वा तेस्रो मुलुकमा पुनः निर्यात नगर्ने स्पष्ट लिखित प्रमाण दिनुपर्नेछ । यो सर्टिफिकेसन प्रोसेसमा कम्तिमा ४५ दिन लाग्न सक्ने बताइएको छ र हाल यो प्रक्रिया विश्वभरका देशहरूमा ढिलो भइरहेको छ ।
चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धले कार उद्योग संकटमा, उत्पादन बन्द हुने चेतावनी