काठमाडौं । लघु, घरेलु तथा साना उद्योग नेपालको आत्मनिर्भर अर्थतन्त्रको आधारभूत संरचना भएको भन्दै यसको प्रवर्द्धन अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरूले बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ (एनएफएसईआई) स्थापना भएको ३६औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा आयोजित स्थापना दिवस समारोहमा बोल्ने वक्ताहरूले स्वरोजगार, स्थानीय रोजगारी, महिला र युवाको सशक्तीकरण तथा आयात प्रतिस्थापनका लागि यस्ता उद्योगहरूलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका हुन् ।
महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योगहरू बिना समावेशी, दिगो र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताउँदै भने, 'नेपालमा ठूलो उद्योग सञ्चालन गर्न पूँजी, पूर्वाधार र भौगोलिक चुनौती छन्, त्यसैले साना उद्योग नै हाम्रो आर्थिक मेरुदण्ड हुन सक्छ ।' उनले यस्ता उद्योगहरूलाई नीतिगत, वित्तीय र प्रविधिगत सहयोग आवश्यक रहेको उल्लेख गरे ।
पूर्व अध्यक्ष श्याम गिरीले व्यवहारमा लघु उद्योगलाई अर्थतन्त्रको इञ्जिनका रूपमा बुझ्न नसकिएको गुनासो गर्दै महासंघ स्थापना पछि देशभरका उद्यमीहरूको साझा संस्थाको रूपमा विकसित भएको बताए ।
कार्यक्रममा महासंघका सल्लाहकार, उपाध्यक्षहरू, महासचिव, महिला उद्यमी समितिका प्रतिनिधि, प्रदेश अध्यक्षहरू तथा अन्य पदाधिकारीहरूले पनि आ-आफ्ना मन्तव्य राख्दै लघु, घरेलु तथा साना उद्योगको विकासले समग्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने धारणा व्यक्त गरे ।
स्थापना दिवसकै अवसरमा महासंघका प्रदेश, जिल्ला र पालिकास्तरीय इकाइहरूले पनि विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।