काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४८ प्रतिशत पुगेको छ। मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएसँगै कामले तीव्र गति लिएको हो ।
हाल सुरुङको इन्भर्ट र लाइनिङको काम तीव्र रूपमा अघि बढिरहेको छ । आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार १ हजार ८९ मिटर लम्बाइको मुख्य सुरुङमध्ये ९९० मिटर इन्भर्ट र १ हजार १२६ मिटर लाइनिङमध्ये ६६० मिटर सकिएको छ ।
‘बाइपास-२ मा १६१ मिटर छ । यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन । बाइपास–३ मा १३० मिटर छ । जसमा इन्भर्टको ३६ मिटर काम भइसकेको छ । लाइनिङको काम भने सुरु भएको छैन,’ ज्ञवालीले भनिन्।
सुरुङभित्र कङ्क्रेटिङ, सडक ढलान, भेन्टिलेसन, विद्युत् जडान, सुरक्षा प्रणाली, अक्सिजन वारपार र आगो निभाउने उपकरण जडानजस्ता कार्यहरू बाँकी छन् । सुरुङको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण पनि गरिनेछ ।
२०७९ सालदेखि निर्माण सुरु भएको यो सुरुङमार्ग २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ ।
सिद्धार्थ राजमार्गको पहिरो जोखिमयुक्त खण्डमा पर्ने यो सुरुङमार्ग निर्माणपछि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ र म्याग्दी जाने सवारीका लागि सुरक्षित र सहज मार्ग बन्नेछ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सिद्धबाबा र नागढुङ्गा सुरुङमार्गका लागि २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । बजेट सुनिश्चित भएसँगै काम तीव्र गतिमा अघि बढिरहेको इन्जिनियर ज्ञवालीले बताइन् ।