विद्युत खरिद सम्झौताका लागि विवरण पेश गर्न जलविद्युत कम्पनीहरूलाई प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका जलविद्युत आयोजना प्रवर्द्धकहरूलाई आवश्यक विवरण चार दिनभित्र पेश गर्न आग्रह गरेको छ । 

व्यवसाय विकास निर्देशनालयमार्फत पठाइएको पत्रमा उल्लेख भएअनुसार सञ्चालक समितिको ९९४ औं बैठकको निर्णय अनुसार विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गर्नका लागि प्राथमिकता निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको हो । 

यसका लागि उप–कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरिएको छ । जसले यथासक्य छिटो प्रतिवेदन तयार गर्नुपर्नेछ । 

आयोजना राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रमा पर्छ वा पर्दैन भन्ने विवरणलगायत आयोजना तयारीको अवस्था जस्तै, जेनेरेसन लाइसेन्स, वित्तीय व्यवस्थापनको प्रगति, निर्माण स्थलको तयारी, वातावरणीय प्रभाव मूल्याङ्कन (इलए) को अवस्था पेस गर्नुपर्ने जनाएको छ । आग्रहसँगै प्राधिकरणले जलविद्युत प्रवर्द्धककहरूलाई समग्र ऊर्जा विकास प्रक्रिया छरितो बनाउन सहयोग पुर्याउने अपेक्षा राखेको जनाएको छ।

उक्त निर्देशनअनुसार ग्रिड नेपाल, अपर त्रिशुली, पिपुल्स हाइड्रोपावर, गोमा गणेश, मिजु इनर्जी, सिम्बुवा रेमिट हाईड्रो, सुर्य इनर्जी, युनियन हाइड्रोपावर लगायत झण्डै ५० जलविद्युत कम्पनीलाई पत्राचार गरिएको छ ।

प्राप्त विवरणको आधारमा आयोजना कार्यान्वयनका लागि प्राथमिकता निर्धारण गर्दै विद्युत खरिद सम्झौताको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

null

Share News