व्यापार युद्धपछि पहिलो चरणको ठोस वार्ता आज हुँदै, लन्डनमा ठूला सम्झौताका संकेत

काठमाडौं । अमेरिकी अर्थसचिव स्कट बेसन्ट र ट्रम्प प्रशासनका दुई अन्य अधिकारीहरू सोमबार लन्डनमा आफ्ना चिनियाँ समकक्षहरूसँग नवीकृत व्यापार वार्ताका लागि भेटघाट गर्ने भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो जानकारी दिएका हुन् ।

बेइजिङसँग सम्झौता गर्न प्रशासनको प्रयासको नेतृत्व गरिरहेका बेसन्टसँग वाणिज्य सचिव हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर पनि सहभागी हुने ट्रम्पले बताए ।

'यो बैठक निकै राम्रो हुने अपेक्षा गरिएको छ,' राष्ट्रपति ट्रम्पले शुक्रबार दिउँसो ट्रुथ सोशलमा लेखे, 'यस मामिलामा ध्यान दिनुभएकोमा धन्यवाद !'

चीनका उपप्रधानमन्त्री हे लिफेङले आइतबारदेखि शुक्रबारसम्म बेलायत भ्रमणका क्रममा अमेरिकासँग पहिलो चरणको व्यापार र आर्थिक वार्ता गर्ने चीनको विदेश मन्त्रालयले शनिबार जनाएको छ । 

उनले गत महिना स्वीट्जरल्याण्डमा वाशिङ्टनसँगको द्विपक्षीय वार्तामा बेइजिङको प्रतिनिधित्व गरेका थिए र अहिले चीनका प्रमुख व्यापार वार्ताकार हुन् ।

ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो फोन वार्ता गरेपछि थप व्यापार वार्ता हुने कुरा पहिलो पटक सार्वजनिक गरेका थिए ।

वार्ता तालिका घोषणा अमेरिका र चीनबीचको लामो समयदेखि जारी व्यापार युद्धको बीचमा आएको हो, जसले दुबै आर्थिक महाशक्तिहरूलाई असर पुर्याएको छ ।

गत वर्ष दुई देशबीचको कुल वस्तु व्यापार ५८२ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको थियो । स्वीट्जरल्याण्डको जेनेभामा भएको द्विपक्षीय वार्तापछि दुबैले एकअर्काका अधिकांश वस्तुहरूमा लगाइएको शुल्क अस्थायी रूपमा घटाएका थिए।

तर त्यसयता चीनले अमेरिका माथि बारम्बार त्यस प्रगतिलाई कमजोर बनाएको आरोप लगाउँदै आएको छ ।

अमेरिकी वाणिज्य विभागले चिप उद्योगलाई चिनियाँ अर्धचालक ९सेमिकन्डक्टर० प्रयोग नगर्न चेतावनी दिएपछि बेइजिङले आपत्ति जनाएको थियो । ट्रम्प प्रशासनले केही चिनियाँ विद्यार्थीहरूको अमेरिकी भिसा रद्द गर्ने घोषणा पनि गरेको थियो ।

यता ट्रम्प प्रशासनले भने जेनेभामा चीनले दिएको प्रतिबद्धताअनुसार महत्त्वपूर्ण ‘रेयर अर्थ’को अमेरिकी निर्यात स्वीकृतिमा ढिलासुस्ती गरेको आरोप लगाएको छ ।

ट्रम्पले बिहीबारको फोन वार्तापछि लेखे, 'अब ‘रेयर अर्थ’ उत्पादनहरूको जटिलता सम्बन्धी कुनै शंका हुनु हुँदैन ।' तर उनले त्यसको स्पष्ट व्याख्या भने गरेनन् ।

चीनको वाणिज्य मन्त्रालयले शनिबार भनेको छ कि रेयर अर्थमा लगाइएका प्रतिबन्धहरू अन्तर्राष्ट्रिय अभ्यासअनुसार छन् र थप निर्यात अनुमति स्वीकृतिका लागि प्रक्रिया तीव्र पारिने पनि संकेत दिएको छ ।

चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धले कार उद्योग संकटमा, उत्पादन बन्द हुने चेतावनी
 

Share News