विश्व वातावरण दिवसमा सिटिजन्स बैंकले धनुषामा गर्‍यो वृक्षारोपण, 'बिट द प्लास्टिक' नाराको प्रवर्द्धन

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशको धनुषा जिल्लामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणि मण्डप परिसरमा विभिन्न प्रजातिका १०० भन्दा बढी विरुवा रोपेको हो ।

कार्यक्रममार्फत सिटिजन्स बैंकले वातावरणीय सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन सामाजिक योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ। बैंकका अनुसार वृक्षारोपणको माध्यमबाट स्थानीय वातावरण संरक्षण, जलवायु सन्तुलन तथा प्राकृतिक स्रोतको दीगो उपयोगमा टेवा पुग्ने विश्वास लिएको छ ।

सिटिजन्स बैंकले विगतमा पनि स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरमा सहयोग गर्दै आफ्नो सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिका निभाउँदै आएको छ ।

बैंकले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिँदै सामाजिक तथा वातावरणीय क्षेत्रमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News