काठमाडौं । नेपाली कफी बजारमा वर्चस्व जमाउँदै आएको हिमालयन जाभालाई प्रत्यक्ष टक्कर दिने गरी जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजले विश्वप्रसिद्ध अमेरिकी कफी तथा बेकरी ब्रान्ड 'सिनाबोन' लाई नेपाल भित्र्याएको छ ।
विशेषगरी मदिराजन्य पेय पदार्थको उत्पादन, निर्यात तथा वितरणमा सक्रिय रहेको जावलाखेल ग्रुपले कफी र बेकरी पारखीलाई लक्षित गर्दै सिनाबोनको आधिकारिक फ्रेन्चाइज नेपाल ल्याएको हो । सिनाबोनले ५० भन्दा बढी देशमा लोकप्रियता कमाएको दालचिनी रोल र सुगन्धित कफीका लागि परिचित ब्रान्ड हो ।
सानेपाबाट शुरुवात, २२ आउटलेटको तयारी
एक महिनाअघि ललितपुरको सानेपामा पहिलो आउटलेट सुरु गर्दै नेपाली बजार प्रवेश गरेको सिनाबोनले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रै २२ वटा आउटलेट सञ्चालन गर्ने योजनामा तयारी गरिरहेको कम्पनीले जनाएको छ। आगामी दिनमा प्रमुख सहरहरूमा समेत विस्तार गरिने लक्ष्य राखिएको छ।
सस्तो मूल्य, गुणस्तरीय कफी
सिनाबोनमा पाइने कफीको मूल्य हिमालयन जाभाको तुलनामा सस्तो रहेको कम्पनीले जनाएको छ। सानेपामा सञ्चालनमा रहेको शाखामा प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरिएको र यही मूल्य संरचना सबै आउटलेटमा लागू गरिने जानकारी दिइएको छ । 'हाम्रो उद्देश्य सस्तो मूल्यमा उत्कृष्ट स्वाद र गुणस्तर दिनु हो,' कम्पनीका एक प्रतिनिधिले भने ।
हाइ-एन्ड कफी बजारमा नयाँ विकल्प
अहिलेसम्म नेपाली हाइ–एन्ड कफी बजारमा हिमालयन जाभाको एकछत्र राज रहँदै आएको भए पनि सिनाबोनको आगमनले उक्त वर्चस्वमा चुनौती दिने विश्वास गरिएको छ। यसअघि अन्य ब्रान्डहरूले प्रतिस्पर्धा गर्ने प्रयास गरे पनि जाभाको प्रभुत्व कायमै रहेको थियो । तर, स्थापित र भरपर्दो समूह जावलाखेल ग्रुपद्वारा ल्याइएको ब्रान्ड भएकाले उपभोक्ताको विश्वास जित्न सक्ने सम्भावना प्रबल देखिएको छ ।
कम्पनीले नेपाली बजारमा स्वाद, सेवा र अन्तर्राष्ट्रियस्तरको अनुभव दिन सिनाबोनमार्फत नयाँ बेंचमार्क स्थापना गर्ने लक्ष्य लिएको छ ।