काठमाडौं । अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकले भारतमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न लाइसेन्स पाएको छ । स्टारलिंक दूरसञ्चार विभाग (डीओटी) बाट यस्तो लाइसेन्स प्राप्त गर्ने तेस्रो कम्पनी बनेको छ । यसबाट भारतमा स्याटेलाइटमार्फत सञ्चार सेवाको विस्तार हुनेछ ।
यो सेवा पहिले नै १०० भन्दा बढी देशहरूमा उपलब्ध छ जहाँ सामान्य इन्टरनेट ठीकसँग चल्दैन त्यहाँ तीव्र इन्टरनेट दिने वाचा स्टारलिंकले दिने गर्दछ ।
अब भारतका ती क्षेत्रहरूमा पनि इन्टरनेट पुग्नेछ, जहाँ इन्टरनेट कहिल्यै थिएन । यो वनवेब र रिलायन्स जियोसँग भारतमा यस्तो लाइसेन्स पाउने तीन कम्पनीमध्ये एक हो । कम्पनीले टेलिकम विभागबाट लेटर अफ इन्टेन्ट (एलओआई) पनि प्राप्त गरिसकेको छ, जसलाई सुरुवाती स्वीकृति मान्न सकिन्छ ।
स्याटेलाइटबाट इन्टरनेट कसरी पाइन्छ?
स्टारलिंक, स्पेसएक्सको परियोजना हो, जसले स्याटेलाइटमार्फत इन्टरनेट प्रदान गर्छ । यसलाई यसरी निर्माण गरिएको छ कि यसले उच्चगुणस्तरीय ब्रडब्यान्ड अनुभव दिन सकोस् । यसका लागि पृथ्वीको लो अर्थ अर्बिटमा हजारौं साना स्याटेलाइटहरू राखिन्छन् । यी स्याटेलाइटहरू परम्परागत स्याटेलाइटहरूभन्दा पृथ्वी नजिक हुने भएकाले इन्टरनेट स्पीड तेज हुन्छ र डेटा पठाउने-लिने समय कम लाग्छ ।
स्याटेलाइट इन्टरनेट सेवामा मूल्य प्रतिस्पर्धा सुरु हुने संकेत
स्टारलिंक प्रयोग गर्नेहरू सामान्यतः २५ एमबीपीएसदेखि २२० एमबीपीएससम्मको डाउनलोड स्पीड पाउँछन् । धेरैजसो अवस्थामा यो १०० एमबीपीएसभन्दा माथि हुन्छ । सञ्चारमाध्यमका अनुसार स्टारलिंक भारतमा विशेष अफरका साथ सेवा सुरु गर्ने तयारीमा छ - जसमा १० डलर (१ हजार ३७३ रुपैयाँ) प्रति महिनाभित्र अनलिमिटेड डेटा प्लान उपलब्ध हुनेछ ।
यो सुरुवाती मूल्यले बजारमा चाँडै पाइलो जमाउन स्टारलिंकलाई मद्दत गर्ने विश्वास लिइएको छ । यसले वनवेब, रिलायन्स जियो र ग्लोबलस्टारजस्ता प्रतिस्पर्धी कम्पनीहरूसँगको प्रतिस्पर्धा चर्काउने सम्भावना छ ।
ट्रम्प र मस्कबीच विवादको बेला स्वीकृति
भारतमा स्टारलिंकलाई स्वीकृति त्यस्तो समयमा दिइएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीच विवाद भइरहेको छ ।
मस्क ट्रम्पको ट्यारिफ नीतिको खुलेर विरोध गर्न थालेका छन् । यसले चीनदेखि अमेरिका फैलिएको उनको व्यवसायिक साम्राज्यमा असर पारिरहेको छ । भारतको यस कदमले मस्कप्रति चिढिएको ट्रम्पलाई झनै चित्त दुख्ने सम्भावना छ ।
भारत एक विशाल र तीव्र गतिमा बढ्दो डिजिटल बजार हो । स्टारलिंकलाई यहाँ स्वीकृति मिल्नु एलन मस्कका कम्पनीहरूका लागि ठूलो सफलता हो । यदि ट्रम्पले भविष्यमा अमेरिकी व्यापारिक हितहरूबारे कुरा गरे भने भारतसँगको यो सम्झौताले ट्रम्पका लागि अप्ठ्यारो स्थिति सिर्जना गर्न सक्छ ।