नेपाल एसबिआई बैंक एनपीएस नेसनल कार्ड स्वीचमा आबद्ध, डिजिटल सेवा विस्तार

काठमाडौं । नेपाल एसबिआई बैंकले डिजिटल बैंकिङ सेवा विस्तारको दिशामा थप महत्वपूर्ण कदम अघि बढाउँदै एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड सँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ ।

सम्झौता पत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रम प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा सम्पन्न भएको थियो ।

सो अवसरमा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।

Share News