काठमाडौं । बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पतालका रूपमा ५० शय्यामा सञ्चालित उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति गरेको हो ।
जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले स्तरोन्नतिसँगै विशिष्टिकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । ५० श्ययाको अस्पतालबाट स्तरोन्नति नहुँदा अहिलेसम्म दरबन्दी थपिन नसकेको उनको भनाइ छ ।
गत वर्ष नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भए पनि अस्पताल स्तरोन्नति नहुँदा पठनपाठनमा समस्या भएको बताउँदै स्तरोन्नत्तिपश्चात् नर्सिङ पढाउन बाटो खुलेको डा तिवारीले जानकारी दिए ।
‘अहिले पनि एक सय २६ शय्यामा बिरामीको उपचार गरिरहेका छौँ, तर नीतिगत रूपमा ५० शय्याको मात्रै हुँदा समस्या थियो, दरबन्दी बढ्दा सेवामा सहजता आउँछ,’ उनले भने, ‘एक सय शय्यामा स्तरवृद्धि गरेपछि अस्पतालमा दरबन्दी थपिनेछ भने स्वास्थ्य क्षेत्रमा गुणस्तर थपिनेछ, नर्सिङ पढाउन सहज हुनेछ ।’
तिवारीका अनुसार अहिले अस्पतालमा २२ विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत छन् । विसं २०१५ मा धौलागिरि अस्पताल डिस्पेन्सरीका रूपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालका रूपमा सेवा सञ्चालन गरेको थियो ।
अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगामी वर्षमा बजेट व्यवस्थापन गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले नौ अस्पतालको एकमुस्ट स्तरोन्नति गर्ने निर्णयअनुसार धौलागिरि अस्पताल स्तरोन्नति गरिएको हो ।
गण्डकी प्रदेशको यही जेठ १२ गते बसेको बैठकले नौ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । सरकारले अस्पतालको कर्मचारी संरचना र शय्या सङ्ख्या निर्धारण गरेको छ । धौलागिरि अस्पतालमा कर्मचारी दरबन्दी ९९ पुगेको छ ।
यसअघि बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । धौलागिरि आयुर्वेद अस्पताल स्तरोन्नतिपछिको सेवा दिने तयारीमा रहेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।