काठमाडौं । बाह्य क्षेत्र सुधारको अवस्थामा रहँदा पछिल्लो समय आन्तरिक अर्थतन्त्र पनि सुधारको बाटोमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्यांकअनुसार आन्तरिक रुपमा अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक र वृद्धितर्फ अग्रसर रहेको देखिन्छन् ।
विगतमा अर्थतन्त्र समस्यामा रहेको भन्दै चिन्ता, चासो र बहस हुने गरेको थियो । तर, पछिल्लो समय आर्थिक गतिविधि बढाएर अझै सशक्त बनाउन भने आवश्यक छ । पछिल्लो समय महँगी घटेर २.७७ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । जुन नेपालको बजेट भन्दा धेरै माथि पुगिसकेको देखिन्छ । यसले पनि अर्थतन्त्रको बाह्य क्षेत्रमा व्यापक सुधार भएको देखिन्छ ।
मूल्यवृद्धि २.७७ प्रतिशत
मूल्यवृद्धि (मुद्रास्फीति) २.७७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यो दर ४.४० प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत मात्र रहेको छ । जुन अघिल्लो वर्षको ६.४१ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा घटेको हो । त्यसैगरी, गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत मापन गरिएको छ, जुन अघिल्लो वर्ष ३.०९ प्रतिशत थियो ।
बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल उप–समूहको मूल्य सर्वाधिक ११.०८ प्रतिशतले बढेको छ । फलफूल ६.१५ प्रतिशत, दाल तथा गेडागुडी ५.१७ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थ ४.७० प्रतिशतले वृद्धि भएका छन् । तरकारी उप-समूहको मूल्य ८.११ प्रतिशतले घटेको छ भने मरमसला २.२० प्रतिशत र माछा–मासु ०.४८ प्रतिशतले सस्तिएको छ ।
गैर-खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहमा ९.०४ प्रतिशतको वृद्धि देखिएको छ । शिक्षामा ५.८८ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ५.२३ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ३.९९ प्रतिशत र रेष्टुरेन्ट तथा आवास सेवामा ३.१६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
क्षेत्रगत रूपमा हेर्दा, ग्रामीण क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ३.२१ प्रतिशत पुगेको छ भने शहरी क्षेत्रमा २.६१ प्रतिशत मापन गरिएको छ । यसले देखाउँछ कि ग्रामीण क्षेत्रमा मूल्यवृद्धिको प्रभाव केही बढी रहेको छ ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ४.२९ प्रतिशत मुद्रास्फीति देखिएको छ । त्यसपछिका स्थानहरूमा सुदूरपश्चिम ३.१४ प्रतिशत, मधेश २.८१ प्रतिशत, बागमती २.४० प्रतिशत, गण्डकी २.२३ प्रतिशत, कर्णाली २.२१ प्रतिशत र लुम्बिनी प्रदेशमा सबैभन्दा कम २.१५ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकाको मुद्रास्फीति २.६४ प्रतिशत रहेको छ। तराई, पहाड र हिमाल क्षेत्रको मुद्रास्फीति क्रमशः २.६४, २.६५ र ४.०१ प्रतिशत रहेको छ । हिमाली क्षेत्रमा उच्च मुद्रास्फीति देखिनु त्यहाँको आपूर्ति चुनौतीसँग जोडिएको देखिन्छ ।
विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । २०८१ असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । १० महिनाको अवधिमा २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति वैशाखसम्ममा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । जबकी गत असारमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई ३ खर्ब १ अर्ब ८३ करोड रपैयाँ कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
१० महिनामा साढे १३ खर्ब रेमिट्यान्स
१० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ अर्ब १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।
शोधनान्तर स्थिति ४ खर्ब बढी बचतमा
१० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
निर्यात ७२.७ प्रतिशत बढ्यो
चालु आवको १० महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, तयारी पोशाक, जुश, अलंैची लगायतका वस्तुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।
सरकारको खर्च साढे ११ खर्ब रुपैयाँ
चालु आवको वैशाखस सरकारले कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ गरेको छ । जसमा चालु खर्च ७ खर्ब ७३ अर्ब २३ करोड रुपैयाँ, पँुजीगत खर्च १ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २ खर्ब ६४ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सरकारले ९ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसअन्तर्गत कर राजस्व ८ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ र गैर कर राजस्व ९३ अर्ब ४९ करोड रुपैयाँ रहेको तथ्याङ्कले देखाएको छ । वैशाखसम्ममा सरकारका विभिन्न खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।