ट्रम्पको बयानले टेस्लाको सेयरमा ५ प्रतिशत उछाल, मस्कको सम्पत्तिमा १३.९ अर्ब डलरको वृद्धि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कबीच पछिल्लो समय सम्बन्ध चिसिएको चर्चा भइरहे पनि ट्रम्पले टेस्ला वा स्टारलिंकबाट पन्छिने पक्षमा आफू नरहेको बताएका छन् । सोमबार उनले दिएकोउक्त अभिव्यक्तिपछि मस्कको कम्पनी टेस्लाको सेयरमा एकाएक ५ प्रतिशतको उछाल आएको छ ।

सेयर मूल्यमा आएको यो वृद्धिले टेस्लाका सीईओ मस्कको नेटवर्थमा ठूलो प्रभाव पारेको छ । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सअनुसार मस्कको नेटवर्थमा १३.९ अर्ब अमेरिकी डलरको वृद्धि भएको छ, जससँगै उनको नेटवर्थ अहिले ३५६ अर्ब डलर पुगेको छ । यद्यपि सन् २०२५ को सुरुदेखि अहिलेसम्म मस्कको नेटवर्थमा ७६.२ अर्ब डलरको गिरावट आएको थियो ।

विश्वकै सबैभन्दा मूल्यवान अटो कम्पनी

९९३.९२ अर्ब डलरको बजार मूल्यका साथ टेस्ला अहिले विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनीको रूपमा चिनिएको छ। बजार मूल्यका आधारमा टेस्ला हाल विश्वकै सबैभन्दा ठूला १० कम्पनीको सूचीमा ११औं स्थानमा छ। सो सूचीको शीर्ष स्थानमा माइक्रोसफ्ट (३.५१३ ट्रिलियन डलर), एनभीडीया (३.४७८ ट्रिलियन), एप्पल (३.०४५ ट्रिलियन), एमेजन (२.३०३ ट्रिलियन) र अल्फाबेट (२.११४ ट्रिलियन) रहेका छन्।

त्यसैगरी, मेटा प्लेटफर्म, साउदी अरामको, ब्रोडकम, टीएसएमसी र बर्कशायर हाथवे पनि शीर्ष १० मूल्यवान कम्पनीमा परेका छन्।

विश्वका शीर्ष १० धनी व्यक्ति

ब्लूमबर्गको सूचीनुसार एलन मस्क ३५६ अर्ब डलरसहित हाल विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । दोस्रो स्थानमा मेटा प्लेटफर्मका सीईओ मार्क जकरबर्ग छन्, जसको नेटवर्थ २४५ अर्ब डलर रहेको छ ।

त्यस्तै, एमेजनका संस्थापक जेफ बेजोस (२३८ अर्ब डलर), ओराकलका सहसंस्थापक ल्यारी एलिसन (१९९ अर्ब), माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१७६ अर्ब), पूर्व सीईओ स्टिभ बाल्मर (१६३ अर्ब), गुगलका सहसंस्थापक ल्यारी पेज (१५९ अर्ब) र सर्गेई ब्रिन (१४९ अर्ब) पनि शीर्ष १० मा परेका छन् ।

फ्रान्सेली लक्जरी समूह एलभीएमएचका प्रमुख बर्नार्ड आरनल्ट (१५२ अर्ब डलर) नवौं स्थानमा छन् भने लगानीकर्ता वारेन बफेट (१५४ अर्ब) आठौं स्थानमा छन् ।

एसियाली अर्बपतिहरूमध्ये भारतका मुकेश अम्बानी १०५ अर्ब डलरसहित १७औं स्थानमा छन् भने गौतम अडानी ८४.८ अर्ब डलरसहित २०औं स्थानमा छन् ।

Share News