ग्लोबल रिजर्भमा सुनको बढोत्तरी : ३० वर्षमा सर्वाधिक २३ प्रतिशत हिस्सेदारी

काठमाडौं । विश्वभरका केन्द्रीय बैंकहरूले सुनको भण्डारण बढाउँदै गरेका छन् । २०२५ को दोस्रो त्रैमासिकमा विश्व रिजर्भमा सुनको हिस्सेदारी २३ प्रतिशत पुगेको छ, जुन पछिल्लो ३० वर्षमा सबैभन्दा धेरै हो । 

पछिल्ला ६ वर्षमा यो हिस्सेदारी दोब्बर भएको छ । चीन, टर्की, भारत, पोल्याण्ड लगायतका देशहरूले आफ्नो सुन भण्डार तीव्र गतिमा बढाइरहेका छन् । 

चीनको केन्द्रीय बैंकले मे महिनामा लगातार सातौं महिना सुन खरिद गर्यो । यसैगरी, चीनले आफ्ना नागरिकहरूलाई पनि सुन जम्मा गर्न प्रोत्साहित गरिरहेको छ। सन् २००० मा चीनको केन्द्रीय बैंकसँग ३९५ टन सुन थियो भने अहिले यो २ हजार २८० टन पुगेको छ। तर, विश्लेषकहरूको भनाइ छ कि चीनसँग ५ हजार टन सुन छ, जसलाई उसले गोप्य रूपमा खरिद गरेको हो । 

यसै अवधिमा अमेरिकी डलरको विश्व रिजर्भमा हिस्सेदारी १० प्रतिशत घटेर ४४ प्रतिशतमा पुगेको छ, जुन १९९३ पछिको सबैभन्दा न्यून स्तर हो । त्यस्तै, युरोको हिस्सेदारी पनि २ प्रतिशतले घटेर १६ प्रतिशतमा झरेको छ, जुन १६ वर्षमा सबैभन्दा कम हो । 

रूस-युक्रेन युद्धपछि धेरै देशहरूले डलरमा निर्भरता घटाउँदै सुनको भण्डार बढाउँदै गरेका छन् । यसैबीच पछिल्ला केही वर्षमा सुनको मूल्यमा ठूलो उछाल आएको छ ।

सुन भण्डारमा अमेरिका अगाडि, चीन पाँचौं स्थानमा

यद्यपि चीनले लगातार सुन खरिद गरे पनि,सुन भण्डारको हिसाबले यो धेरै देशहरूभन्दा पछि छ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाको सुन भण्डार ८ हजार १३३.४६ टन छ । यसपछि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी (३ हजार ३५१.५३ टन), इटाली (२ हजार ४५१.८४ टन) र फ्रान्स (२ हजार ४३७ टन) छ । 

चीन २ हजार २७९.५६ टन सुनका साथ पाँचौं, स्विट्जरल्याण्ड (१ हजार ३९.९४ टन) छैटौं र भारत (८७६.१८ टन) सातौं स्थानमा छन् । 

Share News