काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुन:निर्माणले गति लिन थालेको छ । सरकारले विभिन्न खण्डमा ठेक्का प्रक्रिया तीव्र बनाएसँगै निर्माण कार्य अघि बढ्ने संकेत देखिएको हो।
चार खण्डमा विभाजन गरिएको बीपी राजमार्ग पुन:निर्माणको दोस्रो खण्डको ठेक्का समेत लगाइएको छ । सिन्धुलीतर्फ पर्ने बर्खेखोला-नेपालथोकसम्मको ४ किलोमिटर सडक पुन:निर्माणको ठेक्का खरीढुंगा-रघिसिङ-रक्षितिज जेभीले प्राप्त गरेको सडक डिभिजन कार्यालय, भक्तपुरले जनाएको छ ।
डिभिजन कार्यालयका अनुसार यो खण्डको ठेक्का पाउन ११ निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये सबैभन्दा कम लागतमा प्रस्ताव गर्ने खरिढुंगा-रघिसिङ-रक्षितिज जेभीलाई ठेक्का दिइएको हो । कुल लागत १ अर्ब रुपैयाँ अनुमान गरिए पनि उक्त जेभीले ६१ करोड १४ लाख रुपैयाँमा निर्माण गर्न सहमति जनाएको छ ।
यसअघि गत साता मात्र काभ्रे खण्डको चारसयबेंसीदेखि डालबेंसीसम्मको ८।५ किलोमिटर सडक पुनर्निर्माणको ठेक्का पनि लगाइएको थियो । सो खण्डको पुन:निर्माण कार्य थानी-एवान-रकमलजीत जेभीले पाएको हो, जसको ठेक्का मूल्य १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
कम्पनी चयन प्रक्रिया सम्पन्न भएसँगै अब चाँडै सम्झौता गरी निर्माण कार्य सुरु गरिने डिभिजन कार्यालयले जनाएको छ ।