अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा ढकालले गरे नेपालको आर्थिक सुधार र सम्भावनाको प्रस्तुति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् ।

स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्मेलनमा अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरू प्रस्तुत गरे । 

सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराए ।

सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रूपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए । 

महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै उन नेपालमा अवसर खोज्न सहभागीहरूमा आग्रह गरे ।  

‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।’ 

उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरू रहेको बताए ।

यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे ।

उनले महासंघ नेपाल र विश्वको लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको समेत बताए ।

Share News