काठमाडौं । बीमा कम्पनीहरूबाट अझै ३४ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट ३४ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको पाइएको हो ।
चालु आवको वैशाख मसान्तसम्ममा जीवन बीमातर्फ ४ अर्ब ४५ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी छ । जुन गत आवको तुलनामा भुक्तानी हुन बाँकी रकम ९५.४२ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी रकम २ करोड २७ लाख रुपैयाँ थियो ।
चालु आवको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनको भुक्तानी हुन बाँकी दाबी संख्या ९७.२२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा जीवन बीमकको भुक्तानी हुन बाँकी भुक्तानी संख्या २७ हजार ११७ रहेकोमा चालु आवमा बढेर ५३ हजार ४८१ रहेको छ ।
गत आवको तुलनामा कम्पनीहरुले भुक्तानी गरेको रकम भने घटेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आवको वैशाखसम्ममा ५० करोड ६६ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेकोमा समीक्षा अवधिमा कम्पनीहरूले ४८ करोड ९५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।
निर्जीवनतर्फ ३० अर्ब भुक्तानी बाँकी
वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ३३ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । जुन गत आवको सोही अवधिको तुलनामा ४६.८९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी रकम २० अर्ब ६४ करोड थियो ।
वैशाख मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख ५ हजार ६२० रहेको छ । गत आवको तुलनामा भुक्तानी हुन बाँकी दाबी संख्या २.४५ प्रतिशतले बढेको हो ।
त्यस्तै वैशाखसम्ममा १८ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको वैशाखसम्मको तुलनामा ३४.८० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १३ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
