काठमाडौं । टाटा इलेक्ट्रोनिक्स अब सेमिकन्डक्टर बनाउने तयारीमा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीले चिप निर्माण र तिनको परीक्षण (टेस्टिङ) का लागि प्लान्ट स्थापना गरिरहेको छ । यस कामलाई तीव्रता दिन कम्पनीले आफ्ना कर्मचारीहरूलाई प्रशिक्षणका लागि ताइवान पठाइरहेको छ ।
इकोनोमिक टाइम्सका अनुसार टाटा ग्रुपअन्तर्गतको यस कम्पनीले हालसम्म करिब २०० कर्मचारीलाई ताइवान पठाइसकेको छ । ती कर्मचारीहरू पावरचिप सेमिकन्डक्टर म्यान्युफ्याक्चरिङ कर्पोरेसन (पीएसएमसी) मा प्रशिक्षण लिइरहेका छन्।
पीएसएमसी टाटा इलेक्ट्रोनिक्सको प्रविधि साझेदार हो । यी कर्मचारीलाई विशेष प्रकारको सीप सिकाइँदैछ, जुन सीपले गुजरातको धोलेरामा निर्माण भइरहेको प्लान्ट सञ्चालन गर्न सघाउनेछ । सेमिकन्डक्टरले विद्युत नियन्त्रण गर्न मद्दत गर्छ । यो मोबाइल फोन, कम्प्युटरजस्ता विद्युतीय सामानहरूमा प्रयोग गरिन्छ ।
प्लान्ट सुरु गर्ने तयारी
एक स्रोतका अनुसार टाटा इलेक्ट्रोनिक्सबाट प्रशिक्षणका लागि ताइवान जानेहरूको सङ्ख्या बढ्दै गएको छ । कम्पनी प्लान्ट सुरु गर्ने अन्तिम तयारीमा जुटिरहेको छ । सबैभन्दा ठूलो चुनौती दक्ष जनशक्तिको हो । कम्पनीले पीएसएमसीमा एकपटकमा करिब ५० देखि ७५ जनासम्म पठाइरहेको छ ।
करिब १४ खर्ब ५६ अर्बको प्लान्ट
टाटा इलेक्ट्रोनिक्सले धोलेरामा करिब १४ खर्ब ५६ अर्ब रुपैयाँ लागतको प्लान्ट बनाइरहेको छ । यसले २० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिनेछ । त्यसबाहेक असममा रिब ४ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको ओएसएटी (एसेम्ब्ली र परीक्षण) सुविधा निर्माण भइरहेको छ, जसबाट करिब २७ हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।
मार्च २०२४ मा धोलेरास्थित टाटाको युनिटको भूमिपूजन कार्यक्रममा केन्द्रीय मन्त्री अश्विनी वैष्णवले पहिलो चिप डिसेम्बर २०२६ भित्र तयार हुने बताएका थिए । असमको ओएसएटी युनिट २०२५ को मध्यसम्म सञ्चालनमा आउने अनुमान छ ।
टाटा इलेक्ट्रोनिक्सले चिप बनाउने ठूला कम्पनीहरू जस्तै इन्टेल र ग्लोबलफाउन्ड्रिजका वरिष्ठ अधिकारीहरूलाई समेत नियुक्त गरिरहेको छ ।
सेमिकन्डरमा चीन र अमेरिकाको प्रभुत्व
हाल सेमिकन्डक्टर चिप निर्माणमा चीन र अमेरिकाको वर्चस्व कायम छ । चिप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एनभीडीया अमेरिकी हो । भारत पनि आफ्नै चिप निर्माणको दिशामा अघि बढिरहेको छ । विश्वास गरिन्छ कि यसै वर्ष भारतले पहिलो ‘मेड इन इन्डिनया’ चिप बनाउनेछ । यस अभियानमा धेरै कम्पनीहरू जुटेका छन् ।