‘५ मिनेटमै अमेरिकाको घाटा हटाउने’ बफेटको सुझावले फेरि तहल्का पिट्यो

काठमाडौं । अमेरिकी सरकार लगातार बजेट घाटासँग जुधिरहेको छ । सरकारले हरेक वर्ष आफ्नो आम्दानीभन्दा बढी खर्च गरिरहेको छ । दुबै दलका प्रयासहरूका बाबजुद पनि २०२५ जुनसम्म अमेरिकाको ऋण बढेर ३३.८ ट्रिलियन डलर पुगेको छ । र यो ऋण घट्ने कुनै संकेत देखिँदैन । 

यस आर्थिक संकटको बीचमा चर्चित लगानीकर्ता वारेन बफेटको एउटा सुझाव फेरि चर्चामा आएको छ । धेरै प्रतिष्ठित व्यक्तिहरूले यस सुझावको समर्थन गरेका छन् ।

सन् २०११ मा सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा बफेटले अमेरिकाको घाटा घटाउने सजिलो उपाय बताएका थिए । उनले भनेका थिए, 'म ५ मिनेटमै घाटा समाप्त गर्न सक्छु । बस यति गर्नूहोस्- एक यस्तो कानुन पास गर्नुहोस् कि जब जीडीपीको ३ प्रतिशतभन्दा बढी घाटा हुन्छ तब संसदका सबै सदस्यहरू पुनः निर्वाचन लड्न अयोग्य ठहरिनेछन् ।'

यो पुरानो अन्तर्वार्ता फेरि भाइरल भएको छ । वाशिंगटनमा जवाफदेहिताको विषयमा बहस सुरु भएको छ । टेस्लाका सीईओ तथा विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले पनि यसमा सहमति जनाएका छन् ।

सीनेटर माइक लीले उक्त भिडियो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सेयर गर्दै सोधेका छन्, 'के तपाईं यस संशोधनको समर्थन गर्नुहुन्छ ?' यस पोस्टमा धेरै मानिसहरूले आफ्नो धारणा व्यक्त गरेका छन् । 

एलन मस्कले पनि समर्थन जनाउँदै लेखे, '१०० प्रतिशत- यही सही उपाय हो ।' 

अर्थशास्त्री पीटर शिफले पनि यसबारे आफ्नो विचार राख्दै ट्वीट गरे, 'बफेटको योजना कडा छ, तर उत्कृष्ट छ । अन्ततः कंग्रेसले आफ्ना आर्थिक गल्तीहरूको महसुस गर्नेछ ।'

सीनेटर लीले एक्समा लेखेका छन्, 'म एक संविधानिक संशोधनको मस्यौदा तयार गरिरहेको छु । यसअनुसार जब महँगी ३ प्रतिशतभन्दा बढी हुनेछ, तब कंग्रेसका सबै सदस्यहरू हटाइने छन् । सम्पूर्ण देश महँगीसँग जुध्नुभन्दा नेताहरूलाई अयोग्य घोषित गर्नु राम्रो हो ।'

लीको सुझाव बफेटको सुझावभन्दा अलिक फरक छ । लीले कंग्रेसको योग्यता महँगीसँग जोडेका छन्, जबकि बफेटले घाटासँग । यद्यपि, दुवै विषय सरकारको खर्चसँग सम्बन्धित छन् ।

खस्किँदै गएको अमेरिकी अर्थतन्त्र

हाल अमेरिकी अर्थतन्त्र कठिन समयबाट गुज्रिरहेको छ । वित्तीय वर्ष २०२४ मा अमेरिकाको जीडीपी २८.८३ ट्रिलियन डलर थियो । सरकारको खर्च ६.७५ ट्रिलियन डलर थियो भने आम्दानी ४.९२ ट्रिलियन डलर मात्र थियो । त्यसकारण १.८३ ट्रिलियन डलरको घाटा भयो, जुन जीडीपीको ६.३ प्रतिशत हो । यो बफेटले उल्लेख गरेको ३ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो ।

कंग्रेसनल बजेट अफिसको अनुमानअनुसार सन् २०३४ सम्म यो घाटा बढेर २।६ ट्रिलियन डलर पुग्नेछ । यसको मुख्य कारण राष्ट्रिय ऋणमा बढ्दो ब्याज हो, जुन अहिले हरेक वर्ष १ ट्रिलियन डलरभन्दा बढी भइसकेको छ ।

किन बढिरहेको छ ऋण?

अर्थशास्त्रीहरूले लामो समयदेखि घाटा र महँगीबीचको सम्बन्धबारे चेतावनी दिँदै आएका छन् । नोबेल पुरस्कार विजेता मिल्टन फ्राइडम्यानले भनेका थिए, 'महँगीको कारण सरकारी खर्चको अत्यधिक वृद्धि र सरकारद्वारा छापिएको बढी पैसा हो- अरू केही होइन ।'

हालका तथ्यांकहरूले पनि यही देखाउँछन् । सन् २०२४ मा महँगी ३.२ प्रतिशतसम्म पुगेको थियो, जुन फेडरल रिजर्भको २ प्रतिशत लक्ष्यभन्दा बढी हो । यसको एक कारण सरकारका खर्चिला नीतिहरू पनि हुन् ।

Share News