काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेको घोषणा गरेसँगै तेलको मूल्य बढेको छ । आक्रमणको खबर आएपछि बेन्चमार्क ठेक्का सम्झौताअन्तर्गत ब्रेन्ट क्रुड र निमेक्स लाइट स्वीटको मूल्यमा १० प्रतिशतभन्दा बढी वृद्धि भएको हो ।
इरान र इजरायलबीचको भिडन्तका कारण इरानबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने व्यापारीहरूलाई चिन्ता छ ।
कच्चा तेलको मूल्यवृद्धिले खाद्यान्नदेखि लिएर सवारी साधनमा इन्धन भर्ने खर्चसम्म सबै क्षेत्रमा असर पार्छ ।
इरानले आगामी दिनमा जवाफी कारवाही गर्ला कि नगर्ला भन्नेबारे व्यापारीहरूले चासोपूर्वक हेरिरहेको विश्लेषकहरूले जनाएका छन् ।
आक्रमणमा परी इरान रिभोल्युशनरी गार्डका प्रमुख हुसैन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमले यो खबर पुष्टि गरेको हो।
उनी ती केही उच्च अधिकारीमध्ये पर्छन्, जो इजरायलको आक्रमणमा मारिएका छन्।
इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ ।
यीमध्ये परमाणु ऊर्जा संगठनका पूर्व प्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची रहेका छन् ।
इजरायलले इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित केन्द्रहरू र अन्य सैन्य क्षेत्रलक्षित गरी आक्रमण गरेको जनाएको छ ।
इरानी सरकारी टेलिभिजनले नतांज परमाणु केन्द्रमा नयाँ विस्फोट भएको खबर दिएको छ । यो परमाणु केन्द्र तेहरानदेखि करिब २२५ किलोमिटर दक्षिणमा रहेको छ ।