१२५ अर्ब रुपैयाँ पुग्यो सेयर कर्जा, अझै बढेन बजार

काठमाडौं । बैंकहरूको सेयर धितो कर्जा (मार्जिन नेचर लोन) १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

गत वर्षको वैशाखमा बैंकहरूले ८६ अर्ब १८ करोड ५४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले सेयर कर्जा ४५.६४ प्रतिशत अर्थात् ३९ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ सेयर कर्जा बढाएका हुन् । 

चालु आवको वैशाखसम्ममा वाणिज्य बैंकहरूले मात्रै १ खर्ब ३ अर्ब १३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको वैशाखसम्ममा वाणिज्य बैंकहरूले ६७ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ सेयर कर्जा दिएका थिए । गत वर्षको तुलनामा बैंकहरूको सेयर कर्जा ५३.१४ प्रतिशत अर्थात् ३५ अर्ब ७९ करोड १७ लाख रुपैयाँ बढाएको राष्ट्र बैंकले जनाएको छ । 

स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकाल सेयर कर्जा वृद्धि भएपनि बजार उकालो लाग्न नसकेको बताउँछन् । साथै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी बजारका लागि कति प्रतिशत फाइनान्सिङ गर्ने हो स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ छ । सेयर कर्जामा सीमा लगाउन नहुने उनले बताए । 

‘ऋणीको क्षमता, व्यवसाय विस्तारको आवश्यकताका आधारमा कर्जा लिने हो । व्यक्तिगत रूपमा सीमा लगाउनु हुँदैन । जस्तो भोलिदेखि पेट्रोल पाइँदैन भन्ने सूचना आउनेबित्तिकै पेट्रोलपम्पमा लाइन लाग्छ । तर, सधैं पेट्रोल पाइन्छ भन्ने हो भने आफूलाई जति चाहिने त्यति हाल्छन् । त्योबेला खासै अभाव सिर्जना हुँदैन,’ उनले भने, ‘कर्जा पनि यस्तै हो । कोर क्यापिटल, पुँजीको निश्चित प्रतिशत कर्जा सेयर बजारमा जानुपर्छ भनेर स्पष्ट तोक्नुपर्छ ।’ 

चालु आवको १० महिनामा नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा सर्वाधिक बढाएको छ । नेपाल एसबिआइको कर्जा ३८८.५९ प्रतिशत बढाएर ६१ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको सेयर कर्जा १२ करोड ५७ लाख रुपैयाँ मात्रै थियो । 

माछापुच्छ्रे बैंकले २९१.९५ प्रतिशत बढाएर १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, कृषि विकास बैंकको १५७.८२ प्रतिशत बढाएर ३ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ, कुमारी बैंकले १४६.६१ प्रतिशत बढाएर ९ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ, एनएमबि बैंकले १२८ प्रतिशत बढाएर २ अर्ब २ करोड ९१ लाख रुपैयाँ सेयर धितो कर्जामा लगानी गरेका छन् । 

राष्ट्र बैंकका अनुसार प्राइम बैंकले ९२.१३ प्रतिशत बढाएर ७ अर्ब ८२ करोड १४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६४.५८ प्रतिशत बढाएर ५ अर्ब ४५ करोड १६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६४.५१ प्रतिशत बढाएर ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ६३.९४ प्रतिशत बढाएर ३ अर्ब २७ करोड ४४ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । 

प्रभु बैंकले ५८.१० प्रतिशत बढाएर ४ अर्ब ७० करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले ५३.२३ प्रतिशत बढाएर २ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४९.२५ प्रतिशत बढाएर ६ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४६.१५ प्रतिशत बढाएर २ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४०.९० प्रतिशत बढाएर ७ अर्ब ८६ करोड १० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । 

वैशाखसम्ममा राष्ट्रिय वाणिज्य बैंकले ३८.२७ प्रतिशत बढाएर ५ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ, नेपाल बैंकले ३३.७५ प्रतिशत बढाएर ७ अर्ब ७७ करोड १९ लाख रुपैयाँ, नबिल बैंकले २८.४२ प्रतिशत बढाएर १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, हिमालयन बैंकले १७.२२ प्रतिशत बढाएर २ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ मार्जिन नेचर लोन प्रवाह गरेका छन् ।null

तर, यस अवधिमा एनआईसी एशिया बैंकले भने सेयर कर्जा घटाएको छ । चालु आवको १० महिनामा एनआईसी एशिया बैंकले ४६.७६ प्रतिशत घटाएर २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ मात्रै सेयर कर्जा प्रवाह गरेको छ । 

अध्यक्ष ढकालका अनुसार सेयर कर्जामा एक/दुई प्रतिशत मात्रै छुट्याएर बाँकी कर्जा कृषि, पर्यटन, उद्योग लगायतमा दिएपनि हुन्छ । बजारमा रहेका म्यानुपुलेसन हटाउन पनि सबै तयार हुनुपर्ने र बजारप्रति राज्यको दृटिकोण सकारात्मक बनाउनुपर्ने उनको भनाइ छ । 

नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनाली बैंकबाट प्रवाह भएको सेयर कर्जा प्रिआईपीओमा लगानी भइरहेको बताउँछन् । उनका अनुसार ब्याजदर न्यून बिन्दुमा पनि अझै घटिरहेको भएपनि बजार बढ्न सकेको छैन । किनभने आईपीओको प्रक्रियामा रहेका कम्पनीमा ठूलो पैसा गएको देखिन्छ । 

धेरैले आफैंसँग भएको रकम अथवा बैंकबाट लिएको ऋण त्यहाँ डाइभर्ट गरेकाले ब्याजदर घट्दा दोस्रो बजारमा छिर्नुपर्ने पैसा कम मात्रै छिरेर धेरै उता छिर्ने गरेको उनको भनाइ छ । 
 

Share News