तीन सय मतदातासँग गभर्नरको ‘खुसी साटासाट’

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले आफ्ना मतदातासँग खुसी साटासाट गरेका छन् । उनले शनिबार आफ्नो निर्वाचन जिल्ला चितवन क्षेत्र नं. १ का ३ सय बढी मतदातालाई भेटेर खुसी साटासाट गरेका हुन् । 

पौडेल २०७९ सालमा प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । तर, उनी चुनावमा विजयी हुन सकेनन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकालले उनलाई पराजित गरेका हुन् ।

चुनावमा पराजित भएपछि केही सीमित कार्यक्रममा मात्रै उपस्थित हुने पौडेल अहिले गभर्नर बनेपछि भने भेटघाटलाई  तीव्रता दिएका छन् । गभर्नर बनेपछि भने उनको भेटघाटको क्रम बढेको छ । शनिबारमात्रै उनले आफू पराजित बनेको निर्वाचन क्षेत्रका मतदातासँग भेटेर बधाई ग्रहण गरे । 

नेपाली कांग्रेस चितवन काठमाडौं सम्पर्क समितिले आयोजना गरेकाे चियापान कार्यक्रममा सहभागी हुँदै उनले सबैलाई धन्यवाद दिएका थिए । 

काठमाडौंमा बस्दै आएका चितवन निर्वाचन क्षेत्र नं. १ का बासिन्दाले शनिबार सामूहिक रुपमा भेट गरी बधाई तथा शुभकामना दिएको कार्यक्रम संयोजक ऋषिश्वर थपलियाले जानकारी दिए । थपलियाका अनुसार कार्यक्रममा ३ सय भन्दा बढी सहभागी थिए ।  

‘सामूहिक चियापान तथा भेटघाट कार्यक्रम हो । सबै जना आउनु भएको थियो, चितवन क्षेत्र नम्बर-१ घर भई काठमाडौंमा बस्दै आउनु भएकाहरू कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो, व्यक्तिपिच्छे भेटेर बधाई दिनुभन्दा सामूहिक भेटेर बधाई दियौं,’ उनले भने ।

चियापानमा पौडेललाई चुनावमा सहयोग गरेका केही व्यवसायी तथा बीमा कम्पनी, लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको पनि सहभागिता थियो । 

उनी गत जेठ ६ गते राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका थिए ।

Share News