महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका १० रुपैयाँ दरका नोट आजदेखि प्रचलनमा आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंक १० रुपैयाँ दरका नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज असार २ गतेदेखि साविककै आकार तथा रङ्गमा १० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको हो । 

राष्ट्र बैंकका अनुसार सङ्केत नं.द/३२  ०००००१ देखि प/९४ ९९९९९९ सम्म ‘‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याउने भएको हो । 

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “वि.सं. २०८१“ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा कृष्णसारको चित्र, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपीज टेन र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी लेखिएको रहेको छ । 

विसं २०७७ साल मंसिर १० गतेदेखि रुपैंया १० दर (सेरिज २०२०) को बैंकनोट सङ्केत नं. ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं.ढ/८२ ०००००१ देखि द/३१ ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ । 

Share News