काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले आउँदो भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटनका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई औपचारिक निमन्त्रणा दिएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेट गरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भई उद्घाटन गर्न आग्रह गरेको हो ।
भेटघाटका क्रममा अध्यक्ष चौधरीले लामो समयपछि आएको बजेट निजी क्षेत्रमैत्री भएको भन्दै त्यसले अटोमोबाइल क्षेत्रलाई आशावादी बनाएको उल्लेख गरे । उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा सवारीसाधन निर्माण उद्योग खोल्ने तयारी भइरहेको जानकारी गराउँदै त्यस्ता उद्योगलाई प्रोत्साहन हुने नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखे ।
छलफलमा अर्थमन्त्री पौडेलले नाडाको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै अटोमोबाइल व्यवसायीहरूबाट सरकारलाई अझ बढी राजस्व योगदानको अपेक्षा राखेको बताए ।
प्रतिनिधिमण्डलमा महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानको सहभागिता थियो ।