इरानी मिसाइल आक्रमणमा परी इजरायलमा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं । इजरायली आपतकालीन सेवाले आइतबार राति भएको इरानी आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको जनाएको छ । यसैगरी, धेरै जना घाइते भएका छन् । 

इजरायली आपतकालीन सेवाका अनुसार शुक्रबारदेखि अहिलेसम्म इजरायलमा मृत्यु हुनेको संख्या कम्तीमा २२ पुगेको छ।

शुक्रबारदेखि नै दुबै देशबीच आक्रमण सुरु भएका थिए ।

यता इरानको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायली आक्रमणमा देशभरमा २२४ जनाको मृत्यु भइसकेको जनाएको छ ।

इजरायलका रक्षा मन्त्री इसराइल काट्जले इरानलाई चेतावनी दिएका छन् । उनले  इरानी आक्रमणमा मारिएका इजरायली नागरिकहरूको ज्यानको मूल्य तेहरानका नागरिकहरूले चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।

उनले इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेईमाथि जानाजान आम नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन्, ताकि इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले प्रतिआक्रमण गर्न नसकोस् ।

इसराइल काट्जले खामेनेईलाई ‘कायर हत्यारा’ र ‘घमण्डी तानाशाह’ भनेका छन् ।

उनले भनेका छन् कि इजरायल चाँडै प्रतिआक्रमण गर्नेछ ।

Share News