काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन् ।
पृथ्वीको निम्न कक्षका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिंकको सुरुआतले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ ।
सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्टारलिङ्कका मालिक स्पेसएक्सका अध्यक्ष र प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ गरेको बताए । ‘सटवेलले स्टारलिंकलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई यात्राको उत्कृष्ट सुरुआत भनेका छन् ।
यो भारतका दुई ठूला टेलिकम सेवा प्रदायक जिओ प्लेटफर्म र यसको प्रतिद्वन्द्वी भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको घोषणा पछि आएको हो । स्पेसएक्सका मालिक मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति र जिओ प्लेटफर्मका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा कुरा गरेका छन् ।
भारतमा मस्कका व्यापारिक चासोहरू हाल एक्समा मात्र सीमित भएता पनि टेक उद्यमीको इलेक्ट्रिक सवारी साधन निर्माता टेस्लाले देशमा प्रवेशको तयारी गरिरहेको छ ।
भारत सरकारले केही साताअघि मात्रै भारतमा सेवा सञ्चालनका लागि स्टारलिंकलाई लेटर अफ इन्टेन्ट (एलओआई) जारी गरेको थियो । स्टारलिंकका उच्च पदाधिकारीहरु भारतमै पुगेर यो सम्झौता भएको हो ।
लाइसेन्सका लागि भारत सरकारले तय गरेका सर्त तथा निर्देशिकाअनुरूप व्यावसायिक सेवा सञ्चालन गर्न स्टारलिंक तयार भएपछि अनुमति दिइएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अब स्टारलिंकले सेटलाइट इन्टरनेट सञ्चालन गर्न भारतमै कमाण्ड एण्ड कन्ट्रोल सेन्टरस्थापना गर्नुपर्नेछ ।
स्टार लिंकले नेपालमा पनि आउन खोजेको चर्चा भइरहेको छ । तर, सरकारको उदाशिनताले त्यो सम्भव हुन सकेको छैन । केही महिनाअघि मात्र स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डाइरेक्टर रेबेका हन्टरसहितको टोली नेपाल आएको थियो ।
टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र मस्कबीच भर्चुअल सम्वाद पनि भएको थियो । त्यसपछि भने स्टारलिंक नेपाल आउने विषयमा कुनै चर्चा भएको छैन ।