इरानले इजरायलसँग कहिल्यै सम्झौता नगर्ने खामेनेईको प्रतिक्रिया

इरानका सवोच्च नेता आयतुल्लाह अली खामनेई र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू । फाइल तस्बिर

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले इरानले कहिल्यै पनि इजरायलसँग सम्झौता नगर्ने प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मा पोस्ट गर्दै उनले यस्तो भनेका हुन् ।

अर्को पोस्टमा उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा ‘शर्तविहीन आत्मसमर्पण’ र ‘इरानी सुप्रीम लिडर लुकिरहेका छन्‌’ भन्ने कुरा लेखेका थिए । त्यसपछि खामेनेईले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘हामीले आतंकवादी जायनिस्ट शासनलाई कडा जवाफ दिनैपर्छ। हामी जायनिस्टहरूलाई कुनै दया देखाउने छैनौं।’

ट्रम्पले के पोस्ट गरेका थिए ?

ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘हामीलाई राम्ररी थाहा छ, यसो भनिने ‘सुप्रीम लिडर’ कहाँ लुकेका छन्। उनी सजिलो निशाना हुन्, तर अहिले त्यहाँ सुरक्षित छन्।’

ट्रम्पले भनेका थिए, ‘हामी उनीहरूलाई अहिले नै हटाउने (मार्ने) छैनौं, कम्तिमा अहिले भने होइन। तर हामी चाहँदैनौँ कि आम नागरिक वा अमेरिकी सैनिकमाथि मिसाइल प्रहार होस्। हाम्रो धैर्य अब सकिँदै गएको छ।’

हालै मध्यपूर्वमा इरान र इजरायलबीच सशस्त्र झडप तीव्र बनेपछि क्षेत्रीय तथा विश्व शक्तिहरू चिन्तित छन् ।

क्षेत्रीय विश्लेषकहरूका अनुसार यदि इरान र इजरायलबीच तनाव अझ बढेमा सम्पूर्ण मध्यपूर्व अस्थिर हुन सक्ने र विश्व ऊर्जा बजारमा समेत नकारात्मक असर पर्न सक्ने अनुमान छ ।

Share News