काठमाडौं । फोटोनले नयाँ पिकअप ट्रक ‘टुनल्यान्ड जी ७’ नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । ‘बिल्ट फर हिमालयज’ नारासहित सार्वजनिक हुन लागेको यो पिकअप गाडी नेपालको कठिन भौगोलिक संरचनामा उत्कृष्ट प्रदर्शन गर्ने हिसाबले निर्माण गरिएको बताइएको छ ।
कम्पनीका अनुसार नेपालको हिमाली बाटो र पहाडी भेगको चुनौतीलाई सहज पार गर्ने क्षमतासहित जी ७ मा १६० हर्सपावर र ३९० एनएम टर्क शक्ति उपलब्ध छ । २२५ मिमीको ग्राउन्ड क्लियरेन्स, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता विशेषताले अप्ठ्यारा सडकमा पनि सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्नेछन् ।
फोटोनले चीनमै पहिलो अटोनोमस कमर्शियल भेहिकल निर्माण गरेर प्रविधिमा नयाँ इतिहास रचेको हो । यही प्रविधिमा आधारित टुनल्यान्ड जी ७ ले सुरक्षा, शक्ति र स्मार्ट सुविधा एकसाथ प्रदान गर्ने दाबी गरिएको छ ।
यस पिकअपमा १२.३ इन्चको इन्फिनिटी टचस्क्रिन, पुस बटन स्टार्ट, स्वचालित एयर कन्डिसनिङ, प्यानोरामिक सनरूफ, र हीटेड–भेन्टिलेटेड सिट जस्ता प्रिमियम सुविधा उपलब्ध छन् । सिटहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा मिलाउन मिल्ने छन् । जसले यात्रा अझ आरामदायी बनाउनेछ ।
फोटोन टुनल्यान्ड जी ७ व्यापारिक प्रयोजनका साथसाथै पारिवारिक यात्रा वा एडभेन्चर ट्रिपका लागि पनि उपयुक्त विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार यो गाडी केवल बिक्रीका लागि ल्याइएको हैन, 'नेपालका लागि नै डिजाइन गरिएको विशेष मोडल' हो ।