काठमाडौं । भारतीय उद्योगजगतका दिग्गज रतन टाटाको सम्पूर्ण सेयर सम्पत्ति उनका सौतेनी दिदीबहिनी र आफूलाई दत्तक छोरा बताउँदै आएका विश्वासपात्र मोहन दत्ताले पाउने आशा समाप्त भएको छ ।
बम्बे हाई कोर्टले टाटाका अरबौं मूल्यका लिस्टेड र अनलिस्टेड सेयरहरु उनका दुई फाउन्डेसनलाई मात्र दिने स्पष्ट आदेश जारी गरेको हो ।
टाटाका सम्पत्तिका प्रशासकहरूले दिवंगत उद्योगपतिले छाडेका सेयर पोर्टफोलियो कसलाई दिने भनेर कोर्टसँग स्पष्टता मागेका थिए । अदालतले १६ जुनमा दिएको आदेशअनुसार टाटाका सम्पूर्ण सेयर सम्पत्ति अब रतन टाटा एन्डोमेन्ट फाउन्डेसन (आरटीईएफ) र रतन टाटा एन्डोमेन्ट ट्रस्ट (आरटीईटी) लाई जानेछ ।
टाटाका प्रशासकबीच कुनै विवाद नरहे पनि केही प्रशासक आफै लाभार्थीसमेत रहेका कारण प्रश्न उठाइएको थियो । वसीयतको चौथो परिशिष्टमा भएका संशोधनका आधारमा कोर्टले निर्णय सुनाएको हो ।
न्यायाधीष मनीष पिटालेका अनुसार टाटाका लिस्टेड र अनलिस्टेड सेयरहरूमा रहेको हिस्सेदारी जुन वसीयतमा अलग उल्लेख गरिएको छैन, त्यो बाँकी सम्पत्तिको रूपमा दुवै फाउन्डेसनलाई समान भागमा बाँडिनेछ।
टाटा सन्समा मात्र रतन टाटाको सेयरको मूल्य १ हजार ६८४ करोड रुपैयाँभन्दा बढी छ, जुन आरटीईएफ र आरटीईटीलाई ७०:३० को अनुपातमा बाँडिनेछ । बाँकी गैर-टाटा सन्स सेयर, जसको अनुमानित मूल्य १ हजार ५४७ करोड रुपैयाँभन्दा बढी छ, ती भने दुवै फाउन्डेसनलाई ५०:५० को अनुपातमा दिइनेछ ।
टाटाका गैर-टाटा सन्स पोर्टफोलियोमा टीसीएस, टाटा मोटर्स, टाटा इन्भेस्टमेन्ट कर्पोरेशन, आरएनटी एसोसिएट्स, प्रीतीश नन्दी कम्युनिकेसन्स, क्यूरफीट, अवन्ती फाइनान्स र इलेक्ट्रोड्राइभ पावरट्रेन सोल्युसन्स (इलेक्ट्रा ईभी) जस्ता चर्चित कम्पनी र स्टार्टअपहरू छन् ।
साथै हमेट एरोस्पेश र अल्कोया कर्पजस्ता विदेशी कम्पनीका सेयर पनि रहेका छन्, जुन न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत छन् ।
यो निर्णयसँगै रतन टाटाको वसीयतको कानुनी प्रक्रिया (प्रोबेट) एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी
विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई