काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले इजरायलसँगको संघर्ष र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिएका छन् ।
खामेनेईद्वारा जारी बयानमा भनिएको छ, 'अमेरिकाको कुनै पनि प्रकारको सैनिक हस्तक्षेपको जवाफ निश्चय नै अपूरणीय क्षतिको रूपमा दिइनेछ ।'
सर्वोच्च नेताले भने, ‘जसले इरान, यहाँका जनता र यहाँको इतिहासलाई राम्रोसँग चिन्छ, उसले कहिल्यै धम्कीको भाषामा यो देशसँग कुरा गर्दैन । किनकि इरानी जनता त्यस्ता होइनन् जो सजिलै आत्मसमर्पण गरून् ।’
'अमेरिकी राष्ट्रपति हामीलाई धम्क्याउँछन् । आफ्ना आधारहीन अभिव्यक्तिहरू मार्फत उनीहरू इरानी जनतासँग आत्मसमर्पणको माग गर्छन् । उनले तिनीहरूलाई धम्क्याउनुपर्छ जो धम्कीबाट डराउँछन्, इरानी जनता यस्ता धम्कीबाट डराउँदैनन्,’ उनले थपे ।
यसअघि मंगलबार राति ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘हामीलाई राम्रोसँग थाहा छ कि भनिने सर्वोच्च नेता कहाँ लुकेका छन्। उनी सजिलो निशाना हुन्, तर अहिले उनी त्यहाँ सुरक्षित छन् ।'
‘हामी उनलाई अहिले हटाउने (मार्ने) छैनौं, कम्तिमा अहिले त होइन । तर हामी चाहँदैनौं कि आम नागरिकहरू वा अमेरिकी सैनिकमाथि मिसाइल प्रहार होस् । हाम्रो धैर्य अब सकिन थालिसकेको छ,’ ट्रम्पले लेखेका थिए ।
हालै मध्यपूर्वमा इरान र इजरायलबीच सशस्त्र झडप तीव्र बनेपछि क्षेत्रीय तथा विश्व शक्तिहरू चिन्तित छन् ।
क्षेत्रीय विश्लेषकहरूका अनुसार यदि इरान र इजरायलबीच तनाव अझ बढेमा सम्पूर्ण मध्यपूर्व अस्थिर हुन सक्ने र विश्व ऊर्जा बजारमा समेत नकारात्मक असर पर्न सक्ने अनुमान छ ।